जनकपुरधाम- जनकपुरधाममा जारी महेन्द्रनारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा पहिले ब्याटिङ गर्दै कोशीले ९५ रनको लक्ष्य दिएको थियो । तर, सुदूरपश्चिमले १५.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो ।



सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले सर्वाधिक २९ रनको अविजित पारी खेले । राजु रिजालले २३, दीपक बोहराले ८, खडक बोहराले १३ र मिलन बोहराले १० रन बनाए ।
कोशी प्रदेशका लागि दीपेश कँडेलले ४ ओभर बलिङ गर्दै २ र प्रकाश कार्कीले १ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । कोशीका लागि पछिल्लो क्रममा आएका दीपक जोशीले १ चौका र १ छक्काको मद्दतमा १२ बलमा २१ रन बनाए ।
कप्तान अंकित सुवेदीले २५ बलमा १८, समीर कार्कीले ११, फिर्दोस अन्सरी ६, मिनास थापा ६, सोनु अन्सारीले ९, सुजन थपलियाले २, दीपेश कंडेले २, कमल खत्रीले २ र प्रकाश कार्कीले १ रनको योगदान गरे ।
सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएका हुन् । कप्तान नारायण जोशीले २ विकेट, दीपक बोहरा र नरेन साउदले १–१ विकेट लिए ।
अब उपाधिका लागि सुदूरपश्चिमले कर्णालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।




