जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले दलहरूले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनमा सहमति जनाए आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।
मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले भने, “म संवैधानिक बाध्यताका कारण मुख्यमन्त्री बनेको हुँ, व्यक्तिगत इच्छा या महत्वाकांक्षाका कारण होइन। अरू दलका नेताहरूलाई नेतृत्व दिन पनि म तयार थिएँ, तर पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले मलाई नियुक्त गर्नुभयो।”



उनले थपे, “अझै केही बिग्रिएको छैन। यदि दलहरूले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनमा सहमति जनाए भने, म तुरुन्तै राजीनामा दिन र मार्ग प्रशस्त गर्न तयार छु।”
मुख्यमन्त्री यादवले अहिले कांग्रेसबाहेक अन्य दललाई नेतृत्व दिने कुनै योजना नभएको स्पष्ट पार्दै भने, “म आज काठमाडौं जाँदैछु। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मधेशको सरकार गठनबारे चिन्ता व्यक्त गर्नुभएको छ। त्यहाँ नेपाली कांग्रेसका कार्यवाहक सभापतिसँग भेटेर सरकार गठनको विषयमा आवश्यक जानकारी र छलफल गर्नेछु।”




