महोत्तरी- महोत्तरीको धेरै जसो सडकहरुको प्राय निर्माण सम्पन्न भई सकेको छ । अहिले सडकहरुमा यात्रा पहिले भन्दा निक्कै सुविधा जनक भएपनि जलेश्वर-वर्दिवास सडकमा यात्रा गर्नुको निकै पीडादायी छ ।
जलेश्वर-वर्दिवास सडक खण्डमा तीन वर्ष देखि सडक निर्माण हुँदै आएपनि कहिले सम्म निर्माण सम्पन्न हुने ठेगान नै छैन । सडक पहिले भन्दा समेत जर्जर अवस्थामा पुगेको पुगेको छ। सडक निर्माण गर्ने कम्पनीहरुमाथी सरोकारवाला निकायहरुले कडाई नगरेकोले जनताले जर्जर र जीर्ण सडकमा यात्रा गर्नु परेको स्थानीयहरु बताउँछन् ।
जलेश्वर बर्दिवास सडक तिन वर्ष पुरा हुन लागेकाे छ तर सडका ग्राभेल हाल्ने बाहेक केहि काम हुन सकेको छैन । सडक सुधार तथा विस्तार आयोजना (आरआईडिपी)ले सन २०१८ सालको डिसेम्वर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई उक्त सडक निर्माणको लागि ठेक्का दिएपनि कम्पनीले सडक निर्माण अवधि ३६ महिना मध्ये ३३ महिना कटाई सक्दा हालसम्म करिव २२ प्रतिशत काम मात्र गर्न सकेको छ ।कोरोनाको संक्रमण र अन्य विभिन्न कारण देखाउदै निर्माण कम्पनीले काममा ढिलाई हुन गएको बताईरहदा उक्त सडक प्रयोग गर्ने स्थानियहरु र यात्रीहरु भने सास्ती भोग्न बाध्य छन् ।
वर्षायाममा हिलो र गर्मीयाममा धुलोले स्थानियहरु रोगी समेत हुने गरेका छन् तर सडक निर्माणमा सम्बन्धित सरोकारबाला निकायहरुको भने ध्यानाकर्षण हुन सकेको छैन ।
यता समय मै काम सम्पन्न गर्न आतुर नदेखिएको निर्माण कम्पनीलाई सडक सुधार तथा विस्तार आयोजनाले थप १४ महिनाको म्याद दिएको छ । आयोजनाले पर्याप्त कारणहरु देखिएपछि सडक निर्माणको म्याद थपिएको बताएको छ ।शिवालय दिवा जेभीले जलेश्वर बर्दिवास सडक खण्डमात्र नभई जलेश्वर नगरक्षेत्र भित्रको १५.६१ किलोमिटर, सिरहाको १५ किलोमिटर र राजविराजको १५ किलोमिटर गरि कुल ८७.६१ किलोमिटर सडक दुई अर्व आठ करोड भ्याट वाहेकको रकममा निर्माणको जिम्मा दिएकोमा कम्पनीले करिव २९ प्रतिशत (५८ करोड) रकम भुक्तानी पाइसकेको उक्त सडकको कन्सल्टेन्ट कम्पनी सिम्याट सिल्ट भिडिए कन्सल्टेन्ट का रेजिडेन्ट ईन्जिनियर नारायण प्रसाद ढकालले बताए । उनले सडक निर्माण समयमा गर्न निर्माण कम्पनीलाई वारम्वार पत्राचार गर्ने गरेको समेत बताए ।
विगत केहि महिना देखि पुर्ण रुपमा सडकको काम बन्द रहेकोमा दशैं आउनै लाग्दा निर्माण कम्पनीले भने सम्बन्धित निकायबाट थप रकम हात पार्न एकाध कामदार सडकमा भने खटाएका छन् ।
काम गर्दै गरेको आभाष हुने तर काम सम्पन्न नहुने मनसायका साथ निर्माण कम्पनीले काम थाल्दा जनताले कहिले उक्त सडक सहज रुपमा उपभोग गर्न सक्ने गम्भिर प्रश्न छ ।