जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमाले संग गठबन्धन गरी चुनाव लड्ने बताएका छन् ।
आज जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने बताए ।
एमालेसँग आफुहरुको त्यस्तो कुनै असन्तुष्टि नरहेको भन्दै अध्यक्ष ठाकुरले आउँदो स्थानीय तहको निर्वाचनका लागि छलफल हुने बताए । उनले भने, ‘सबै ठाउँमा नभएपनि स्थानीय स्तरमा गठबन्धन गर्न सकिन्छ । अहिले भने हाम्रो कसैसँग कुनै पनि गठबन्धन भएको छैन ।’
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लगायतका दलले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोसपा नेपालले भने ओलीलाई समर्थन गर्दै करिब तीन साताका लागि सरकारमा सहभागी भएको थियो । त्यसैबेलादेखि लोसपाको एमालेसँगको सम्बन्ध राम्रो रहेको बताइएकोछ ।
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन देखि प्रदेशसभा तथा प्रतिनिधिसभासम्म तालमेल हुन सक्ने ठाकुरको भनाइ छ ।