इस्लाम धर्माम्बलम्वीको महानपर्व रमजान रोजा आइतबार सुरु हुँदै छ । खाडी मुलुक सउदी, कतारलगायतका देशहरूमा शनिबार नै रोजा सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेशलगायतका देशमा आइतबार रोजा सुरु हुँदै छ । शनिबार साँझ मुस्लिम सामुदायले आकाशमा चन्द्रमा देखेपछि नेपालभरिका मुस्लिम समुदाय आइतबारदेखि रोजा बस्नेछन् ।
रोजा बस्नुको अघिल्लो रातिलाई चाँदको राति भन्छिन् । रमजानमा पढ्ने तराबीको नमाज राति सुरु भएको छ । रोज (व्रत) हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिवार्य गरिएको छ ।



इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो नम्बरको हो । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखेपछि रमजान सुरु हुन्छ ।
इस्लामिक महिना रमजानको ३० दिनसम्म मुस्लिम समुदायले रोजा बस्ने गर्छन् । इस्लामिक महिना रमजानको पहिलो चन्द्रमा देखेलगत्तै सुरु हुने रोजा पर्वमा मुस्लिम समुदायका सम्पूर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केही नखाई निराहार रुपमा व्रत बस्नु पर्नेहुन्छ । रोजा(व्रत) मा बस्नेहरूले सूर्य उदाउनुपूर्व र सूर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्छन् ।
इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिकदेखि मुस्लिम समुदायमाथि फर्ज अथार्त अनिर्वाय गरिएको छ । इस्लामिक धार्मिक गुरुहरूका अनुसार अहिले १४ सय औँ हिजरी चलिरहेको छ । रोजा धनी, गरिव सवैमाथि अनिवार्य छ, यसमा कुनै भेद्भाव हुँदैन । दिनभरि मजदुरी गर्ने होस् वा राजा राजौटा होस् सबैैमाथि रोजा उतिकै लाजिम(अनिवार्य) गरिएको छ । महिला ,पुरुष दुवै बालिग मुस्लिममाथि रोज अनिर्वाय गरिएको जनकपुरका मौलना मोफ्ती अहमद हुसैनले बताए ।
इस्लामिक धर्मगुरुहरूका अनुसार सामुहिक रुपमा रोजा खोल्दा (अनजल गर्दा) धार्मिक हिसावले राम्रो मानिन्छ । रमजान महिनामा इस्लामिक क्यालेन्डरकोे ९ औँ महिनाहो । यो महिना मुस्लिम समुदायका लागि विशेष महत्व राख्दछ । अन्य महिनाभन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुण बढी सवाव (पुण्य) प्राप्ति हुने जनविश्वास छ । रमाजानकै २७ तारिकका दिन इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा ठूलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवतरित) भएको उनले बताए ।




