जनकपुरधाम । मधेशका किशोरीहरुले पढाइका साथै बचेको समयमा सिकेका सिप प्रयोग गरी व्यवसायबाट आयआर्जन गर्न सकिने र आत्मनिर्भर बनाउन सकिने उद्देश्यले धनुषाका पाँच पालिकाका कक्षा ८ देखि कक्षा १० मा अध्यनरत्त रहेका २६ जना किशोरीलाई उद्यमशिलता तालिम दिइएको छ ।
समाज परिवर्तनका लागि काम गर्दैआएको लाइफ नेपालले बाल विवाह निषेधिकरण तथा बालिका शिक्षा प्रबर्धन कार्यक्रमअन्तर्गत पढाइका साथै आफनो सिपलाई व्यवसायमा कसरी जोडन सकिन्छ भन्ने विषयमा एक दिवसीय तालिम दिएको कार्यक्रम संयोजक डोली शर्माले जानकारी दिनुभयो ।



उहाँले तालिम लिन इच्छुक धनुषाका लक्ष्मिनियाँ गाँउपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, मिथिला बिहारी नगरपालिका र बटेश्वर गाउँपालिका गरी पाँच पालिकाको २५० जना किशोरीबाट छनौट भएका २६ जना किशोरीलाई आफनो सिपलाई व्यवसायसँग जोड्ने विषयमा प्रशिक्षण दिइएको उहाँले बताउनुभयो ।
तालिमको क्रममा सहभागिहरुले पनि आफना सिपलाई प्रयोग गरी व्यवसाय सञ्चालनका विषयमा सुझावहरु प्रस्तुत गरेका थिए । सहभागीहरुले प्रस्तुत गरेका सुझाव र विचारलाई सहभागिहरुबाटै मुल्याङ्कन गरिएको छ ।
तालिमले किशोरीहरुको आत्मबल बढनुको साथै आउने दिनमा आत्मनिर्भर बनाउनमा उनीहरुलाई सहयोग पुग्ने लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको भनाइ छ ।




