काठमाडौं – जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।
आयोगका अनुसार २०८३ मंसिर २ गतेको निर्णयअनुसार ती जनप्रतिनिधिको पद स्वतः रिक्त भएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका उनीहरूले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गर्दै दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समन्वय समितिले आयोगमा जानकारी गराएको थियो।



सोही जानकारी र प्राप्त कागजातका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद रिक्त भएको आयोगले जनाएको छ।
पद रिक्त हुने जनप्रतिनिधिहरू
आयोगका अनुसार पद गुमाउने जनप्रतिनिधिहरूमा सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतो रहेका छन्।
त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजय कुमार पटेलको पद पनि रिक्त भएको छ।
खोटाङबाट जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राई पदमुक्त भएका छन्।
यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नाल, वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गिता वि.क. तथा वडा सदस्यद्वय रामधन राई र शहर मनी राईको पद रिक्त भएको छ।
त्यस्तै इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ्ग, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढाल बहादुर गुरुङ्ग, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बाल चन्द्र राई र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्र बहादुर राईको पदसमेत रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।





