राजकरण महतो – मधेसको कैलास टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर क्षेत्रको प्रचार–प्रसार तथा साउने बोलबम मेलामा लामो समयदेखि योगदान पु¥याउँदै आएका डण्डीबम बासुदेव महतोलाई अभिनन्दन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मन्दिरको तर्फबाट अभिनन्दपत्र प्रदान गर्दै उनको योगदानको उच्च प्रशंसा गरेका थिए । प्रतिनिधिसभा सदस्य प्रमोद महतोले उनलाई दोसल्ला ओढाएर योग्दानको चर्चा र सम्मान गरेका थिए ।



महोत्तरीको बर्दिबास नगरपालिका–५ मा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिले उनलाई अभिनन्दन गरेको हो । पर्यटन मन्त्रीको उपस्थितिमा डन्डीबम महतोले मन्दिर परिषरबाट सन्यास लिएको घोषणा गरेपछि सवैको यो आँखा रखाएको थियो । ७६ वर्षको उमेरमा १६ किलो मिटर बाटो डन्ड काट्दै आइतबार उनले ३५औं पटक टुटेश्वरनाथ महादेवलाई जल अर्पण गरेका थिए ।
योसंगै उनले डन्डीबमबाट सन्यास लिएको घोषणा गरेका छन् । उनी पूर्व प्रधानाध्यापक समेत हुन् । उनको योग्दानले टुटेश्वरधाम क्षेत्रको विकासमा टेवा पुगेको मन्दिर व्यवस्थान समितिका अध्यक्ष राजाराम यादवले बताए । जसले झण्डै ६ दशको संघर्षबाट मधेसको कैलाश टुटेश्वरधाममा नेपाल र भारतका लाखौं–करोडौं भक्तजन ल्याएका थिए । एक साउने मेलामा यहाँ २०औं लाख भक्तजनहरु आउँछन् ।
गौशाला–४, रजखोर, महोत्तरी निवासी महतोले वि.सं. २०२४ सालदेखि साउने बोलबम मेलाको संयोजन तथा भजन–कीर्तनका कार्यक्रम सञ्चालन गर्दै टुटेश्वरधामको धार्मिक महत्व उजागर गर्न योगदान पु¥याउँदै आएका छन् ।
समितिका अनुसार महतोले पछिल्ला ३५ वर्षदेखि निरन्तर डण्डीबम बनेर भक्तिभाव र समर्पणका साथ धार्मिक सेवा गर्दै आएका छन् । उनको निरन्तर साधना र समर्पणले टुटेश्वरधामलाई देश–विदेशमा ‘नेपालको बाबाधाम’ तथा ‘मधेशको कैलास’का रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको समितिले जनाएको छ । अभिनन्दनपत्रमा महतोको परमात्माप्रतिको समर्पण र भक्ति अझ प्रगाढ हुँदै जाओस् तथा टुटेश्वरनाथ, माण्डवीगङ्गा, स्वर्णमति र वरुणवतीलगायत धार्मिकस्थलको आध्यात्मिक ऊर्जाबाट उनले आरोग्यता र दीर्घजीवन प्राप्त गरून् भन्ने शुभकामना व्यक्त गरिएको छ ।
डन्डीबम बासुदेवले भावुक हुँदै भने, ‘म जीवनमा आज धेरै खुशी भए । हामीजस्ता मान्छेलाई सांसद् र मन्त्रीले पनि दर्शन दिनुभयो । बुढेसकाल लाग्यो । अब डण्ड काटेर आउन कठिन भयो । यसबाट म आज देखि सन्यास लिन्छु । तर, मन्दिर क्षेत्रको विकासका लागि अभियानहरु जारी नै रहन्छ ।’ आजको द पब्लिक टुडे दैनिकमा समाचार छापिएको छ ।




