धनुषा- जनकपुर उपमहानगरपालिकामा बागी उम्मेदवारी दिएर मेयर जितेका मनोजकुमार साहलाई नेपाली कांग्रेसले गरेको कारबाही फिर्ता लिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहलाई पुन: नगरसभापतीकै जिम्मवारी दिएको छ । नगर प्रमुख साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै बिद्रोहीका रुपमा मेयरमा चुनाव लड्दा भएको कारवाही फुकुवा गरिएको हो ।



पुन: पार्टीमा रही हिजोका आफ्ना गतिविधिलाई आत्मसात गर्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्य अनुसार क्रियाशील रहने गरी सोमबार निवेदन दिई पार्टीमै रहने प्रतिवद्धता व्यक्त गरेकोले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी उनको साविकको पदलाई निरन्तरता दिदै कारवाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले उनका नाममा जारी गरेको पत्रमा उल्लेख छ ।
साह कांग्रेसको जनकपुरधाम उपमहानगर सभापति थिए । साहले स्थानीय तहको निर्वाचनका क्रममा ९ बैशाख २०७९ मा नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको प्रस्तावकमा नन्दलाल साह र समर्थक रामप्रसाद पजियार थिए । निर्वाचनका दौरान गठबन्धनले जनकपुरधाम जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेपछि असन्तुष्ट जनाउँदै साहले कांग्रेस परित्याग गर्दै नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ बमोजिम साधारण सदस्य समेत नरहने गरि कारवाही हुने उल्लेख छ ।





