जनकपुरधाम- धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।
जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–७ स्थित तारापट्टी चोकमा सोही नगरपालिका वडा नम्बर–६ बस्ने अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत सर्ट भई आगलागी भएको हो ।
स्थानीय रामबाबु साहको घरमा सञ्चालनमा रहेको सो कपडा पसलमा बिहीबार बिहान आगलागी हुँदा एक करोडबढिको क्षति भएको तारापट्टी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामनाथ यादवले जानकारी दिए ।
इन्चार्ज यादवले प्रहरीलाई बिहान साढे ३ बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुण यन्त्र मगाई आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनले समयमै जानकारी हुँदा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जानकारी दिएका छन् ।




