महोत्तरी – मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रको निरीक्षण गर्नुभएको छ।
सोमबार बिहान मटिहानी पुग्नुभएका मन्त्री महतोले सीमाक्षेत्रको शान्ति–सुरक्षा अवस्था तथा विकास निर्माणमा भएका प्रगतिबारे जानकारी लिनुभयो। उहाँले निर्माणाधीन तर हाल रोकिएको नाला निर्माण कार्यको समेत अवलोकन गर्नुभयो।



स्थानीय बजरंजी प्रसाद साह र शिवा साहले आफ्नो निजी जग्गामा नाला निर्माण गर्न लागिएको भन्दै उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता गरेपछि अदालतले उक्त कार्य तत्काल रोक्न आदेश दिएको थियो।
निरीक्षणका क्रममा मन्त्री महतोले विकास निर्माणका काममा अवरोध हुन नहुने बताउँदै दुवै पक्षबीच छलफल गरी समस्याको समाधान खोज्न आग्रह गर्नुभयो। उहाँले जग्गाको यकिन गरी सम्बन्धित पक्षलाई क्षति नपुग्ने गरी आवश्यक पहल थाल्न सरोकारवाला निकायलाई निर्देशन दिनुभयो।
यसैबीच, मन्त्री महतोले मटिहानीस्थित प्रसिद्ध लक्ष्मी नारायण मठमा दर्शनसमेत गर्नुभएको छ। उहाँलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल तथा मठका उत्तराधिकारी महन्थ डा. रविन्द्र दास वैष्णवले स्वागत गर्नुभएको थियो।
निरीक्षणमा प्रदेश सभा सदस्य सुनिता कुमारी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए।




