
जनकपुरधाम- धनुषाको महेन्द्रनगरमा जग्गा विवादमा एकजना वृद्धको हत्या भएको आरोप लगाइएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका – ९ कुम्हरौलमा पर्ने जनकपुरधाम–ढल्केवर राजमार्गमा दुई पक्षबीच विवाद हुँदा ७० वर्षीय भोला ठाकुर बरहीको मृत्यु भएको छ ।
जानकी मेडिकल शिक्षण अस्पताल रमदैयामा उपचारको क्रममा उनको बुधबार राति मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जनाएका छन् । गौतमका अनुसार मृतक भोला दमका रोगी थिए । विवादमा बटेश्वर गाउँपालिका ५ शान्तिपुरका सुनिल साहले कोदालोले प्रहार गर्ने भन्दै हातपात गर्दा वृद्ध भुइमा लडेको बताइएकोछ ।
यद्यपि अर्को पक्षले होहल्ला मात्रै भएको र हातपात वा कुटपिट केही नभएको दाबी गर्दै आएका छन् ।
अहिले मृतक भोलाको शव पोस्टर्माटमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाएको डीएसपी गौतमले बताए ।
मृतक भोलाका छोरा श्याम शर्माले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा जाहेरी दिएका छन् । उनले सुनिल साह र अनिल चौधरीलाई विपक्षी बनाइ ज्यान मार्ने सम्बन्धी मुद्दा दर्ताका लागि जाहेरी दिएको प्रहरीले पनि पुष्टी गरेका छन् । तर यस विषयमा आवश्यक अनुसन्धान गरी मात्रै आरोपिमाथि मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
पोष्टमार्टमको रिर्पोटपछि मात्र अनुसन्धानको प्रक्रिया निष्कर्षमा पुग्न सक्ने प्रहरीको कथन छ । यदी वृद्ध रोगकाे कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाए भने त्यस्तो अवस्थामा हत्याको जाहेरी दर्ता नहुने प्रहरी अधिकारीहरुले जनाएका छन् ।
यस विषयमा सुनिल र अनिलले आफूहरु संग मौखिक रुपमा वादविवाद मात्र भएको कुनै किसिमको हातपात र कुटपिट मात्र भएको बताए । अनिलको अनुसार वादविवाद हुने क्रममा वृद्ध लडेको थियो , लडे पछि आफू आफ्नो गाडीमा राखेर नै अस्पताल सम्म पुर्याएको थिए । घटना स्थलमा आफू पछि पुगे र वृद्धलाई अस्पताल लगेको तर नहुने घटना भयो अनिलको भनाइ छ । उनले घटनामा राजनीतिकरण भएको आरोप लगाए ।
