महोत्तरी- जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित तीनजना विरुद्ध मिटरब्याज पीडितहरूले बिहीबार जलेश्वरमा र्याली निकालेका छन्।
बुधबार साँझ मेयर सोनारसहितका व्यक्तिले आफूहरूलाई कुटपिट गर्दै दुर्व्यवहार गरेको भन्दै पीडितहरू आन्दोलित भएका हुन्।
जलेश्वर नगरपालिकाको मूलगेटमा धर्ना दिँदै मेयर विरुद्ध नाराबाजी गरेपछि पीडितहरू जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेका थिए। तर, प्रहरीले दर्ता नगरी फर्काइदिएको छ। हामी अनुसन्धान गर्दै छौँ, अनुसन्धानपछि दर्ता गर्ने वा नगर्ने भन्ने टुंगोमा पुग्छौँ भन्दै प्रहरीले आफूहरूलाई फर्काएको पीडितहरूले गुनासो गरेका छन्।
प्रहरीले सानालाई ऐन र ठूलालाई चैनजस्तो व्यवहार देखाएको भन्दै पीडितहरूले मेयर विरुद्ध जाहेरी दर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
भंगाहा नगरपालिका– ४ का मोहन महतोले बुधबार आफूहरूमाथि भएको घटना र दुर्व्यवहारको प्रमाणका रूपमा प्रहरीले सिसिटिभी फुटेज हेर्न सक्ने भए पनि बेवास्ता गर्दै मेयरलाई जोगाउन खोजेको महसुस आफूहरूलाई भइरहेको बताए।
मेयर सोनारले भने आफूलाई बदनाम गर्न मात्र खोजिएको जिकिर गरेका छन्। नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले घटनास्थलमा आफूबाट नभई आफूमाथि अभद्र व्यवहार भएको बताए। उनले आफूमाथि जानाजान नभई अञ्जानमा त्यस्तो घटना हुन पुगेको भन्दै पदको मर्यादा आफूलाई थाहा भएको र पदमै भएको कारण जनताको सानोतिनो गल्तीलाई नजरअन्दाज गर्ने गरेको प्रतिक्रिया दिए ।
जलेश्वर नगरपालिका– ११ पिगौनाका परमेश्वरी देवीले आफ्नो नामको जग्गा नामसारी गराई स्थानीय साहुकारसँग ऋण लिएकी थिइन्। ऋण नतिरेको भन्दै साहुकार अदालत गएका थिए।
जिल्ला अदालतले जग्गाधनी पुर्जा भएका व्यक्तिलाई भोगचलन गर्न दिनू भन्ने आदेश दिएपछि परमेश्वरी देवीले अनुचित लेनदेनको कागज बनाई आफ्नो नामको जग्गा हडपेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन्।
त्यसपछि जिल्ला प्रशासन कार्यालयमा परमेश्वरी देवी र साहुपक्ष बीच छलफलका लागि जलेश्वर नगरपालिकाका मेयर सोनार, वडाध्यक्ष र पीडितपक्ष उपस्थित भएका थिए। त्यही क्रममा प्रशासन कार्यालयको गेटबाहिर विवाद हुँदा हात हालाहालको अवस्था आएको हो।




