सप्तरी- सप्तकोशी नगरपालिका ११ भगनीका पत्रकार एवम् सुचना अभियन्ता कैलाश माझीलाई ज्यान मार्ने धम्की आएको छ । सप्तकोशी नगरपालिका संग पटकपटक सूचना माग गरेको कारण सप्तकोशी नगरपालिकाका सूचना अधिकारी शैलेस कुमार गुप्ताले ज्यान मार्ने धम्की दिएका हुन ।
विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार २०७९ ले सम्मानित पत्रकार माझीले सुचना माग गरेकै कारण ज्यान मार्ने धम्की आएपछि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय राजबिराज सप्तरीमा उजुरी दिएका छन्।
असार १९ गते मंगलवार राती करिब १०:३० बजे ज १२ प ७०३ नम्बरको एफ जेड मोटरसाइकलमा सवार भै रक्सीको मातमा “सूचना माग्ने तँ को होस? सुचना दिन्न, तलाइ जे गर्नु छ गर । तँ घरबाट बाहिर निस्की । तँलाइ मारिदिन्छु” भन्दै बाटोभरी तथानाम अश्लील गालीगलौज सहित अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएपछि माझीले आफ्नो जिउ ज्यानको सुरक्षा एवम् दोषीलाई पक्राउ गरी कारवाहीको माग गरेका हुन्।



जिल्ला प्रशासन कार्यालय सप्तरीले माझीको सूरक्षाको लागि आवश्यक कारबाही गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय राजविराज र इलाका प्रहरी कार्यालय कंचनपुरलाई पत्राचार गरिसकेको छ । पत्रकार तथा सूचना अभियन्ता माझी विगत लामो समयदेखि सूचनाको हक कार्यान्वयन, भ्रष्टाचार न्यूनीकरण लगायतका सुशासनको क्षेत्रमा कार्यरत छन् ।
सुशासनका लागि भ्रष्टाचार विरुद्ध अभियानमा सक्रिय पत्रकार तथा सूचना अभियन्ता कैलाश माझीलाई राष्ट्रिय सूचना आयोगले सूचना आयोगको स्थापना दिवसमा विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार २०७९ ले सम्मानित गरेको थियो । त्यस्तै माझी जागौँ नेपाल राष्ट्रियअभियान मधेस प्रदेशका सदस्य सचिव साथै राष्ट्रिय टेलिभिजन माउन्टेन टिभीका सप्तरी सम्वाद्दाताका रूपमा कार्यरत छन् ।
सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ को उपदफा २ विपरित सार्वजनिक निकायमा रहेको सुचना नदिएर सुचना मागकर्तालाई अश्लील गाली गलौज सहित ज्यान मार्ने धम्की दिएर अभियन्ताहरुलाई निरुत्साहित गर्ने नियोजित प्रयास भएको भन्दै सूचना अभियन्ता माझीले आपत्ति प्रकट गरेका छन।




