जनकपुरधाम- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलले संविधानको मर्म भावना विपरीत अनावश्यक रुपमा संसद अवरुद्ध गरेको बताएका छन् ।
शनिवार सर्लाहीको मलंगवामा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा सहभागि हुन आएका प्रचण्डले जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामो समय देखि प्रतिपक्षी दलले संविधानको मर्म भावना विपरीत अनावश्यक रुपमा संसद अवरुद्ध गरेकोले अब अध्यादेशबाट भएपनि महत्वपूणर् विधेयकहरु अगाडि बढाउने बताए । उनले भने, ‘नागरिकता विधेयक लगायत महत्वपूर्ण विधेयकहरु अध्यादेश बाट नै भएपनि अगाडी बढाउने तयारीमा छौं ।’
पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिको आधारमा पास गर्ने चाहना रहेको बताए । उनले भने, ‘नागरिकता विधेयकको लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौ । राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भएपनि जान्छौ ।’
त्यसैगरी प्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याको सम्बन्धमा गठबन्धनको दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताए ।
उनले अहिले गठबन्धनको सरकार रहेकोमा गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रो सँग चलिरहेको बताउँदै उनले भने, ‘न्यायालयमा समस्या देखिएकोले गठबन्धनका नेताहरु काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेको छौं ।’
अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका नेताहरु काठमाडौँ भन्दा बाहिर भएकोले साँझा धारणा बनाउनमा ढिलो भएको बताए । उनले बैठक बस्ने बितिक्कै गठबन्धनका धारणा आउने जनाए ।




