जनकपुरधाम- मधेश प्रदेशको पर्यटन विकास कार्यालयका ईन्जिनियर मो. युनिस राईनमाथि कार्यालयमै हातपात तथा दुव्र्यबहार गरिएको छ ।
निर्माण व्यवसायीहरुले कमिसन नदिँदा सम्पन्न योजनाको भुक्तानी रोकेको भन्दै कार्यालय मै हातपात तथा दुव्र्यबहार गरेको प्रत्यक्षदर्शी सेवाग्राही रामकेवल यादवले जनाए। यादवका अनुसार ईन्जिनियरमाथि हातपात गर्दै दुई/तीन झापड प्रहार भएको हो।



इन्जिनियर राइनमाथि दुव्र्यबहार भएको भिडियो समेत सार्वजनिक भएको छ । सार्वजनिक भएको भिडियोमा उनीमाथि दुव्र्यबहार भएको देखिन्छ । भिडियोमा एक सेवाग्राहीले उनको खल्तीमा हात हालेर जवर्जस्ती कागजात खोस्दै ‘कमिसनको लागि फाइल रोके । भन्नु पथ्र्यो नि कमिसन चाहियो भनेर’ कार्यालयमै उनलाई घेरेर बसेका सेवाग्राहीले भनेका छन्।
कागजात खोसेका सेवाग्राही भन्छन् ‘हेर्नुस् कमिसन लिएको बैंकका भौचारहरु’ त्यसपछि फेरि इन्जिनियर राईनलाई पाखुरा समातेर भन्छन् ‘कमिसनको कारणले यिनले फाइल रोके । तिमी चेक ल्याउ नभए एसपी अफिस् हिड् ।’
इन्जिनियर डराउँदै भन्छन् ‘यो अफिसको काम हो, अफिसमा छलफल गर्नुस् ।’
कार्यालयमै लेखाअधिकृत नविन झामाथि पनि हातपातको प्रयास भएको छ । उनले पनि कमिसनको कारण भुक्तानी रोकेको भन्दै केही सेवाग्राहीले घाँटी समातेका थिए ।
कार्यालयका प्रमुख मिन भट्टराईले हातपात तथा दुव्र्यबहार घटनाबारे आफूलाई थाहा नभएको बताए । उनले आफू माथि कार्यकक्षमा भएकाले थाहा नपाएको बताए।
लेखाअधिकृत झाले भने कार्यालयमा सेवाग्राहीले हातपातको प्रयास गरेको बताए।लेखा अधिकृत झाले केहि झुन्डले आफू माथि दुव्र्यवहार गर्दै हातपात गर्ने प्रयास गरेको बताए।
आर्थिक वर्ष २०७९/०८०मा पनि पर्यटन कार्यालयमा सम्पन्न ३४ योजनाको भुक्तानीको फाइल रोकिएको छ । कर्यालयका प्रमुख भट्टाईका अनुसार ३६१ मध्ये ३४ वटा भुक्तानीको फाइल रोकिएको जनाए।
प्रमुख भट्टाईले समयमा फाइल नआउँदा ३४ योजनाको झण्डै ३ करोड रुपैयाँ भुक्तानी हुन नसकेको जानकारी दिए। भुक्तानीको लागि भने प्रक्रिया थालिएको उनले बताए।
यता सेवाग्राहीले सम्पन्न भइसकेको योजनाको फाइल असार २० गते अघि नै बुझाएपनि कमिसनका लागि इन्जिनियर राईन, लेखाअधिकृत झा सहितले भुक्तानी नगरेको सेवाग्राहीको गुनासो छ ।
हरेक योजना सम्झौता पूर्व नै केही निर्माणव्यवसायीबाट १० प्रतिशत र भुक्तानी गर्नेबेलासम्म ३० प्रतिशतसम्म कमिसन कर्मचारीले बुझेको सेवाग्राहीहरुको आरोप छ ।




