
जनकपुरधाम- धान उत्पादनमा सबैभन्दा अब्बल रहेको मधेस प्रदेशमै रोपाइँ भने सबैभन्दा न्यून भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४६ प्रतिशत मात्रै रोपाइँ भएको छ । प्रदेशगत रुपमा अरुभन्दा धेरै धान खेती हुने क्षेत्रफल पनि मधेस प्रदेशमै पर्छ ।
यो प्रदेशमा ३ लाख ५४ हजार हेक्टर खेतमध्ये १ लाख ६३ हजार हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । गत वर्ष यहीं अवधिमा यो प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यो पटक पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ । मधेस प्रदेशमा रोपाइँ कम भएकाले यस पटक मुलुकमै धान उत्पादन घट्न सक्ने अनुमान छ ।
धान खेती हुने क्षेत्रफलमध्ये देशभर हालसम्म ६८ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयको तथ्यांकअनुसार पोहोर यहीं समयमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मन्त्रालयका अनुसार देशभर कुल १३ लाख ५७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । सोमध्ये हालसम्म ९ लाख २७ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । हालसम्म रोपाइँ भएका प्रदेशमध्ये सुदूरपश्चिममा भने करिब सकिएको छ । सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोशी प्रदेशमा ७३, वाग्मतीमा ६५, लुम्बिनीमा ७४ र कर्णाली प्रदेशमा ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।