नेपालमा नसर्ने रोगबाट मृत्यु हुनेको संख्यामा बृद्धि भएको तथ्यांक सार्वजानिक भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा मृत्यु हुने कुल संख्याको ५१ प्रतिशत नसर्ने रोगबाट मृत्यु हुने गरेको जनाएको छ । दक्षिण एशियामा ५४ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ । सर्ने रोगभन्दा पनि नसर्ने रोगका विरामीहरु बढ्न थालेको छ ।

नेपाल सरकारले मेरो स्वास्थ्य मेरो जिम्मेवारी मूल नाराका साथ नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान फागुन २०८२ सुरु गरेको छ ।अभियानलाई सफल बनाउन बटेश्वर गाउँपालिका धनुषाले समयमै नसर्ने रोगको जाँच गरौं, स्वस्थ र दीर्घ जीवन बाँचौं नाराका साथ ३० वर्ष भन्दा माथिका व्यक्तिहरुको लागि निः स्वास्थ्य सेवा दिन लागेको हो । बटेश्वर गाउँपालिकाको ५वटै वडाको स्वास्थ्यचौकीमा आएका बिरामीहरुको रक्तचाप जाँच गर्ने, प्रेसर जाँच गर्ने, ब्लड सुगर टेष्ट गर्ने, पिसाव जाँच गरि चिकित्सकीय परामर्श सेवा दिने स्वास्थ्य शाखा प्रमुख रुद्रनारायण यादवले जानकारी दिए ।




बटेश्वर गाउँपालिकाले मंगलवार एक कार्यक्रमको आयोजना गरि ३० वर्षभन्दा माथिका सवै व्यक्तिको निः शुल्क स्वास्थ्य सेवा दिन लागेको कार्यक्रमबारे जानकारी गराएको छ । बटेश्वर गाउँपालिका सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयसेविका, जनप्रतिनिधीहरुलाई नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको सु्रुवात भएकाले यसमा सहयोग गर्न र सर्वसाधारण जनतालाई जानकारी गराई लाभ लिन वडा अध्यक्ष अशोक कुमार महतोले आग्रह गरेका छन् ।

अहिले दिनप्रति बढ्दो आधुनिकिरणले गर्दा शारीरिक श्रम, हिंडाई, दौडाई कम भएको र गलत खानपान र अस्वस्थ्यकर बानी व्यवहारले गर्दा नसर्ने रोगबाट पिडित हुने विरामीको संख्यामा बृद्धि भएको हो । अहिले प्रायजसो घरमा क्यान्सर,मुटुको रोगी, मधुमेह(चिनी रोग),मानसिक रोग, दन्त रोग, उच्च रक्तचापलगायतको समस्याबाट पिडित रहेका छन् ।
नसर्ने रोगको समयमै स्वास्थ्य चेकजाँच गरि उपचार गरेको खण्डमा निको हुने सम्भावना बढी हुन्छ भने रोग लागेर अन्तिम समयमा पहिचान हुँदा जीवनभर औषधी खाई रहनुपर्ने, अंगभंग हुनेलगायत मृत्युसम्मको घटना हुने गरेको स्वास्थ्य निर्देशनालय सपहीका तथ्यांक अधिकृत सरोज कुमार यादवले बताए ।




