
जनकपुरधाम- आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालयहरू धमाधम बन्द भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निणर्य गरेको हो।
उपमहानगरका निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्ति अनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरमा पर्ने सम्पूणर् सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ।
त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाले पनि एक सुचना जारी गर्दै साउन २२ गते २६गते सम्मको लागि विद्यालय बन्द गर्ने निणर्य गरेको छ। यसैगरी अन्य नगर तथा गाउँपालिकाहरुले पनि विद्यालय बन्द गर्ने निणर्य गरेको छ।
जनकपुरस्थित जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. आशिष बोहोराले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गइरहेको बताए । अस्पतालमा पछिल्लो केही दिन देखि आँखा रोगका बिरामीको भीड पनि बढेको बताए। उनले अस्पतालमा दैनिक बढीमा दैनिक ६५० जनासम्म उपचार गराउन आउने भए पनि अहिले ८०० भन्दा बढी आइरहेको बताउनुभयो । आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामी संख्या बढेको डा. बोहोराले बताए।
डा. बोहोराले यस साता आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक १५० जनासम्म बिरामी आएको बताउनुभयो । गत साता यस्तै समस्या लिएर आउने बिरामी संख्या ४०/४५ जना मात्रै थियो।
जनकपुर सहित अहिले गाउँ गाउँमा पनि आँखा पाक्ने रोग फैलिएको छ। सबैभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ।
क्षीरेश्वरनाथ नगरपालिकाको एक गैरसरकारी संस्थामा समाजिक परिचालक अनिता यादवले ७ वर्षीय छोरालाई ४ दिन देखि आँखा पाक्ने रोगले सताएकोमा आज देखि आफू पनि प्रभावित भएको बताइन्। उनले छोरालाई ठीक हुन लागेको तर आफूलाई नै आँखा पाक्ने रोग सरेको बताइन् ।
जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. बोहोराका अनुसार संक्रमण भइसकेपछि शुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिंड्न गाह्रो हुने लगायत लक्षण देखापर्छन्। कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ।
चिकित्सकहरूले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान-बेलुकी पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन्। आँखामा समस्या देखिएका व्यक्तिले चस्माको प्रयोग गर्न र भीडभाडमा नजान पनि आग्रह गरिएको छ । यस्तै, चिकित्सकको सल्लाह अनुसार उपचार गर्न पनि आग्रह गरिएको छ।

