भैरहवा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगर पालिकाका पाचौं तहका कर्मचारी साकिर अहमदलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।
अख्तियार ले साकिर अहमद लाई १ करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैंया ५८ पैसा को विगो जरिवाना र कैद सजाय अदालत समक्ष माग गरेको साउन २३ गते प्रेस विज्ञप्ती द्वारा जानकारी गराएको छ।



प्रेस विज्ञप्ती मा जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिकाका पाँचौ तहका साकिर अहमदले गैरकानूनी कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज साकिर अहमदले सरकारी सेवा प्रवेश गरेको मिति २०४८।१०।१५ देखि २०७८।०६।३० सम्मको समग्र आय तथा व्ययको बिश्लेषण गर्दा निजको वैध आयतर्फ पारिश्रमिक आय, घरजग्गा बिक्री आय, बिभिन्न भत्ता, कर्जाको आय, कृषि आय, बिदेशबाट प्राप्त रेमिट्यान्स, सवारी साधन बिक्री, निर्माण सेवा आम्दानी र बैंक व्याजबाट प्राप्त आयसमेत गरी जम्मा रु १ करोड १६ लाख ५३ हजार ९ सय ५७ रूपैंया एघार पैसा वैध आयको अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका खर्च तथा लगानीतर्फ बैंकको ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, जग्गा खरिद र रजिषट्रेशन दस्तुर, ऋण दिएको, पुँजीगत लाभकर, शेयर खरिद, सवारी साधन खरिद, बिद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेत गरी रु २ करोड ७२ लाख ३३ हजार ६ सय ५२ रूपैंया उनान्सत्तरी पैसा खर्च तथा लगानी देखिन आएबाट सो सिर्जित आयबाट निजको ब्यय घटाउँदा हुन आउने रु १ करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैया अन्ठाउन्न पैसा बराबरको खर्च तथा सम्पत्ति को बैधानिक स्रोत नखुलेको हुँदा निजको बैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएबाट बैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको निज र निजको परिवारले अमिल्दो र अस्वभाविक जीवन यापन गरेको प्रमाणित हुन आएको हुँदा निज साकिर अहमदले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकोले निज साकिर अहमदलाई बिगो रु १ करोड ५४ लाख ७९ हजार ६ सय ९५ रूपैया अठाउन्न पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिइएको भनिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग का प्रवक्ता भोला दाहाल ले साकिर अहमदले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती नुर जहाँ र छोरा साजन शाहसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीहरुमा लगानी तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्च मध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख ।
बमोजिम नुर जहाँ र साजन शाहलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएका छन् ।




