बर्दिवास- अविरल वर्षाले बर्दिवास नगर क्षेत्रमा बाढीले भएको क्षति र वर्षा संगै अगामी दिनमा आउने बाढी पहिरोबाट हुने क्षतिलाई मध्यनजर गरी बर्दिवास नगरपालिकाले ५ बुँदे निर्णय गरेको छ।
बर्दिबास नगरपालिकाका नगर प्रमुख तथा स्थानिय विपत व्यवस्थापन समितिका अध्यक्ष प्रहलाद कुमार क्षेत्रीको अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समितिको समुपस्थितिमा मंगलवार बसेको आकस्मिक बैठक पाँच बुँदे निर्णय गरेको हो ।



निर्णयहरुमा बर्दिवास वडा नं. १,२,३ र १४ मा खानेपानी वितरणको लागि निर्माण गरिएको रातुखोलाको चार वटा रिचार्ज पोखरीहरूको संरक्षणको लागि लगाइएको स्पर्क तथा तार जालि अविरल वर्षाले क्षति पुर्याएको र उक्त पोखरीहरू बगाइ लाने अवस्था भएकोले संरक्षण नगरिएमा बर्दिवास १, २, ३ र १४ मा खानेपानी अवरोध भइ जनजीवनमा असर पर्ने साथै उक्त क्षेत्रको जगगा जमिनमा समेत क्षति पुर्याउने हुदाँ तत्काल आवश्यक तार जालि तथा स्पर्कहरू निर्माण गरि पोखरी संरक्षण गर्न राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितिलाइ अनुरोध गर्ने निर्णय गरिएको छ।
त्यसैगरी बर्दिवास वडा नं. ७ र ९ मा जनताको तटबन्धनबाट बडहरी खोला र रातु खोलामा निर्माण गरिएको तटबन्धन जिर्ण अवस्थामा रहेको हाल वडा नं.७ बडहरी खोलाको प्रेमनगर नजिक पुलबाट बस्ति तर्फ पसेको त्यसै गरि सोहि वडाको हनुमान चौकबाट रातुखोला पुर्व पश्चिम दुवै तर्फबाट बस्ति तर्फ पसेको हुदाँ तत्काल तटबन्ध नगरिएमा उक्त क्षेत्रको बस्ति जोखिममा पर्ने भएकोले तटबन्धको लागि जनताको तटबन्धन फिल्ड कार्यालय जलेश्वरलाई अनुरोध गर्ने , वडा नं. ३ को झोलुङ्गे पुल संरक्षयका लागि जनताको तटबन्धनलाई अनुरोध गर्ने, वडा नं. ६ मा रहेको कृषि कलेज नजिक रातु खोलामा लगाएको तटबन्धन करिव २०० मिटर बगाएकोले उक्त क्षेत्र भित्रका बस्तिहरू जोखिममा भएको हुदाँ तत्काल निर्माणको लागि जनताको तटबन्धन फिल्ड कार्यालय जलेश्वरलाइ अनुरोध गर्ने र यी निर्णयहरू अनुमोदनका लागि जिल्ला विपद व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरिएको मेयर क्षेत्रीले जानकारी दिएका छन् ।




