जनकपुर – धनुषा प्रहरीले मानव बेचबिखन, जबरजस्ती करणी र यौनजन्य क्रियाकलापमा संलग्न रहेको गम्भीर आरोपमा एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ लादो बेलाका करिब ४५ वर्षीय अजिज राइन रहेका छन् । राइनले जनकपुरधाम–४ विद्यापति चोकमा मधेश प्रदेश गेष्ट हाउस सञ्चालन गर्दै आएका थिए । प्रहरीले उक्त होटललाई तत्काल सिलबन्दी गर्दै अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार उजुरी दर्ता भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । सिंहले भने, “उनीविरुद्ध मानव बेचबिखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन् । हाल अनुसन्धान प्रारम्भिक चरणमा छ । आवश्यक प्रमाण संकलनको काम भइरहेको छ ।” प्रहरीका अनुसार राइनविरुद्ध पीडित परिवारका साथै मानव अधिकारकर्मीहरूले समेत उजुरी दिएका छन् ।



उजुरीकर्ताहरूले आर्थिक प्रलोभन देखाएर महिलाहरूलाई यौन क्रियाकलापमा संलग्न गराउने र जबरजस्ती करणी गर्ने जस्ता आरोप लगाएका छन् । यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगमा समेत राइनविरुद्ध उजुरी पुगेको छ । आयोगले यस विषयलाई संवेदनशील मानेर प्रारम्भिक तथ्य–जाँच सुरु गरिसकेको छ ।
आयोगले प्रहरीसँग नजिकै समन्वय गर्दै पीडितको पहिचान र संरक्षणमा विशेष ध्यान दिइरहेको जनाएको छ । विद्यापति चोक वरिपरिका स्थानीयवासीले भने प्रहरीको कारबाहीलाई स्वागत गरेका छन् । उनीहरूले लामो समयदेखि होटलमा असामान्य गतिविधि हुँदै आएको भन्दै यसअघि नै प्रहरीलाई ध्यानाकर्षण गराएका थिए ।




