
काठमाडौं- नेपाली कांग्रेसको जारी संसदीय दल बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएको छ । बैठकमा सांसद प्रदीप पौडेलले चर्चित भ्रष्टाचार प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न प्रधानमन्त्री तयार नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने प्रस्ताव राखेका हुन् ।
‘भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय कांग्रेस संसदीय दलले गर्नुपर्छ,’ बैठकमा सांसद पौडेलले भने, ‘सरकार त्यसका लागि तयार नहुने हो भने प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’
त्यस्तै बैठकमा नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले पनि सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस बैठकमा अधिकांश सांसदहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।