
महोत्तरी - जलेश्वर नगरपालिका– ४ सुगानिवासी सुकमरियादेवी २७ असोज ०७८ मा आफ्नै छरछिमेकबाट प्रताडित हुनुपर्यो। उनलाई गाउलेले बोक्सी भनेर चरम यातना दिए। उनको कपाल मुण्डन र अनुहारमा कालो दल्दै मलमूत्र खुवाइयो। यतिले पनि चित्त नबुझेपछि उनलाई हातखुट्टा बाँधेर बिजुलीको पोलमा बाँधेर यातना दिइयो।
यातनाविरुद्ध उनी कानुनको शरणमा पुगिन्। २५ जेठ ०८० मा जिल्ला अदालत महोत्तरीले उनको पक्षमा फैसला गर्यो। न्यायाधीश बाबुराम सुवेदीको इजलासले सुकमरियालाई बोक्सी आरोपमा चरम यातना दिनेहरू अनिल महतो, पर्णीदेवी महतो भन्ने पुरनी कुमारी, सिकिन्दर महतो, पुनु महतो र प्रमिलादेवी महतोलाई जनही पाँच वर्ष कैद र ५० हजार जरिवाना तोक्यो।
कानुनले सुकमरियालाई न्याय दिए पनि उनीमाथि लागेको बोक्सीको आरोप मेटिन सकेको छैन। अझै पनि गाउँघरमा कोही बिरामी हुँदा सुकमरियालाई ताकेरै सराप्ने गरेको उनले बताइन्। क्षतिपूर्तिको आसमा बसेकी उनले हालसम्म कुनै सहयोग पाएकी छैनन्।
‘कागजी मुद्दा जितेकी छु। मेरो पीडा बुझेर मलाई न्याय दिने, न्याय दिन सहयोग गर्ने सबैलाई मुरी-मुरी धन्यवाद। तर, निधारमा समाजले लगाइदिएकाे कलंककाे टिका मेटिएन। मेरो नाम लिएर बोक्सी भन्दै गाली गर्ने क्रम रोकिएको छैन,’ सुकमरिया भन्छिन्, ‘मेरो मुखमा मलमूत्र कोचिँदा अझै घाँटी निको भएको छैन। घाँटीमा इन्फेक्सन भएको डाक्टरले भने पनि उपचार गराउन सकेकी छैन। यातनापछि अझै हातखुट्टा दुख्न छोडेको छैन। कानुनले जतिसुकै निसाफ दिँदासमेत समाजले एकपटक लगाइसकेको कलंक नमेटिँदोरहेछ।’
यस्तै बोक्सीकै आरोपमा नांगो पारेर कुटिएकी कालोदेवी र दुलरिया देवीको मुद्दामा अदालतले आंशिक दाबी पुगेको भन्दै उनीहरूमाथि कुटपिट गर्नेलाई ६ महिना कैद सजाय सुनाएको छ।
२३ जेठ ०७९ मा निर्घात कुटिएकी जलेश्वर नगरपालिका– ६ धवौलीनिवासी कालोदेवी र दुलरियादेवीको मुद्दामा अदालतले आंशिक दाबी पुगेको भन्दै आरोपीहरू सुटिया देवी, तलेवर राम चमार, बहुरी देवी, सोमनी देवी, सोमारी देवी भन्ने राम सुमारी देवी, राकेश राम चमार, आरती देवी, भुलन राम चमार, रामु चमार भन्ने रामु रविदास, रामपरी देवी र रविराम चमारलाई जनही ६ महिना कैद सजाय दिएको छ।
अदालतले ७ जेठ ०८० मा आंशिक दाबी पुगेको भन्दै कुटपिटमा संलग्नलाई सजाय त दियो, तर समाजमा बस्न उनीहरूलाई पनि सकस छ। यी केही प्रतिनिधि घटना हुन्। दिनदहाडै बोक्सीको आरोपमा महिलामाथि हुने यातनाका घटना अनगिन्ती छन्।
मानसिकता परिवर्तन चुनौतीपूर्ण : अधिकारकर्मी
सुकमरियाको मुद्दामा न्यायका लागि सुरुदेखि नै लागेकी अधिकारकर्मी लीला दियाली भने समाजको मानसिकता परिवर्तन चुनौतीपूर्ण भएको बताउँछिन्। समाज अझै पनि अशिक्षा र अन्धविश्वासको जालोमा जकडिएकाले मानसिकतामा परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको निष्कर्ष छ दियालीको।
एचआरसी नामक संस्था खोलेर अधिकारको क्षेत्रका क्रियशील रहेकी दियाली जनप्रतिनिधिलाई सामाजिक कुरीति र अन्धविश्वासविरुद्ध खुलेर अभियान चलाउन आग्रह गर्छिन्। उनले जनप्रतिनिधिलाई मतको राजनीतिभन्दा जनहितको राजनीति गर्न सुझाव दिइन्।
-नयाँपत्रिका