
जनकपुरधाम- महोत्तरीको गौशला नगपालिकाका कर्मचारीहरुको आन्दोलनले गर्दा ४ दिन देखि नगरपालिकाको कामकाज ठप्प भएको छ।
नगरपालिकाबाट प्रवाह हुने विभिन्न किसिमको सिफारिस लिन आएका सेवाग्राहीहरु चार दिन देखि रितै फर्किनु परेको छ। मालपोतको रसिद काट्न नपाएर सेवाग्राहीहरुको बैंक लगायतका कामकाज प्रभावित भएको गुनासो गरेका छन् ।
नगरका कर्मचारी आन्दोलनमा उत्रेपछि घटना दर्ता, विभिन्न सिफारिस, जग्गा किनबेच, सामाजिक सुरक्षा भत्ताजस्ता काम अवरुद्ध भएपछि आफूहरू मर्कामा परेको एक सेवाग्राहीले गुनासो गरे ।
गौशाला नगरपालिकाका उपप्रमुख रेनुकुमारी महतोले दुव्र्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरले विरोधमा कार्यालयको सबै सेवा ठप्प पारी आन्दोलनम उत्रेका छन् ।
उपप्रमुख महतोले राजस्व शाखाका नायवसुब्बा दीपेन्द्र यादवलाई सोमवार कार्यकक्षमै दुव्र्यवहार गरेको कर्मचारीको आरोप छ । घटनाको छानबिनको माग गर्दै कर्मचारीले विरोधको कार्यक्रम जारी राखेका छन् ।
उपमेयर विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड सहित हातमा कालोपट्टी बाँधेर कर्मचारी धर्नामा बसेका कारण नगरपालिकाको साथै १२ वटै वडाको सेवाप्रवाह प्रभावित भएको सेवाग्राहीको भनाइ छ ।
घटना लगत्तै नगर कर्मचारीले सोमवार अपराह्न विज्ञप्ति जारी गर्दै दुव्र्यवहारको निन्दा र दोषीमाथि कारबाही नभएसम्म अनिश्चितकालीन विरोधको कार्यक्रम गर्ने जनाएका छन् ।
आन्दोलनरत कर्मचारीले सुरक्षा प्रत्याभूति, घट्ना छानबिन तथा उपप्रमुखमाथि कारबाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएका छन् । प्रशासन कार्यालयले आवश्यक कारबाहीका लागि उक्त ज्ञापनपत्र जिल्ला प्रहरीमा पठाइएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले बताए । उपप्रमुख रेनुकुमारी महतोले आरोप कपोलकल्पित, नियोजित र दुराशयपूणर् रहेको भन्दै आरोपको खण्डन गरेकी छिन् । ‘आरोपको आधार र प्रमाण के छ ?’ उनले प्रतिप्रश्न गरिन्, ‘मैले राजस्वसम्बन्धी फाइल माग्दा नदिनु पर्ने कारण के हो ?’
आफूलाई जानकारी नदिई ठेक्का लगाउने काम भएको उनको भनाइ छ । ठेक्कासम्बन्धी कागजात माग्नु नै दुव्र्यवहार हो ?’ उपप्रमुखले प्रश्न गरेकी छिन् ।
उपमेयरले बजार ठेक्का र अनलाइन प्रक्रियाबाट लगाएको ठेक्कासम्बन्धी कागजात माग गरेको कुरा सही भएको नासु दीपेन्द्र यादवले स्विकार गरे। नदिएपछि आफूमाथि दुव्र्यवहार भएको उनले बताए ।