
वीरगन्ज- वरिष्ठ पत्रकार चन्द्रकिशोर झालाई ५१ हजार नगद राशी सहितको सम्मानले वीरगन्जमा सम्मान गरिएको छ । फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा स्थापित पुरस्कारबाट झा सम्मानित हुनु भएको छ ।
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, प्रतीक दैनिका प्रधान सम्पादक जगदीश शर्मा र सम्पादक शत्रुघ्न नेपालले उनलाई नगद, प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरे । राष्ट्रियस्तरका पत्रपत्रिकामा कलम चलाएर नै ख्याती कमाएका अग्रज पत्रकार हुन् झा ।
युवा फोटो पत्रकार स्व.सिंहको भारतमा रेल दूर्घटनामा परी निधन भएको थियो । उनैको स्मृतिमा प्रतीक दैनिकले सो पुरस्कार स्थापना गरेको छ । प्रतीक दैनिकले फोटो पत्रकारहरु मध्येबाट छनौट गरी सुरुमा ५ हजार राशीबाट सुरु गरेको यो पुरस्कारको राशी अहिले ५१ हजार पुगेको प्रतीक दैनिकका प्रधान सम्पादक शर्माले जनाए । राशी बढेझै पुरस्कार तर्फ फोटो विधाबाट विस्तारै लेखन विधा तर्फ पनि विस्तार गरिएको छ । सो क्रममा शुक्रबार वरिष्ठ पत्रकार झालाई सो पुरस्कारले सम्मान गरेको छ । पत्रकार झा प्रशिक्षकको रुपमा समेत स्थापित रहेका छन् ।