भारतीय क्रिकेटर विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २८,००० रन पूरा गरेका छन् ।
न्युजिल्याण्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा उनले उक्त उपलब्धि हासिल गरेका हुन् ।
कोहलीले श्रीलंकाका पूर्व क्रिकेटर कुमार संगाकारालाई पनि पछि पारेका छन् । कोहली धेरै अन्तर्राष्ट्रिय रन बनाउनेमा अब अर्का भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरभन्दा मात्र पछि छन् ।
ईएसपीएनका अनुसार तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेटमा ३४,३५७ रन बनाएका छन् भने कुमार संगकाराले २८,०१६ रन बनाएका छन् ।
आइतबार वडोदरामा न्युजिल्याण्ड विरुद्धको एकदिवसीय खेलअघि कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २७,९७५ रन बनाएका थिए । कोहली हाल अर्धशतक प्रहार गर्दै क्रिजमा छन् ।
पहिले ब्याटिङ गर्दै न्युजिल्याण्डले भारतलाई ३०१ रनको लक्ष्य दिएको थियो ।




