धनुषा – हंशपुर नगरपालिका-५ सुगानिकास टोलका ५१ वर्षीय दीप भनिने जय नारायण मण्डलको मृत्यु घटनाको मधेशी आयोगका सदस्य अभा कुमारी सिंह र इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानको संयुक्त टोलीले माघ १० गते स्थलगत अनुगमन गर्नु भएको छ ।
अनुगमन टोलीले पीडित परिवार, स्थानीय, इलाका प्रहरी कार्यालय सुगानिकास र जिल्ला प्रहरी कार्यालयमा पुगी घटनाका बारेमा जानकारी लिएका हुन् ।
रकम चोरी गरेको आरोपमा एक १० वर्षीय बालकलाई २०८० पुस ५ गते साँझ बाँधेर कुटपिट गरिरहेकोमा सम्झाइ बुझाइ गर्न गएका दीपा भनिने जयनारायण मण्डललाई सोही ठाउँका ४३ वर्षीय शंकर भनिने शिवशंकर ठाकुर र उनको छोरा २२ वर्षीय श्याम ठाकुर र शिवशंकर ठाकुरको ज्वाई महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रामजी ठाकुरले कुटपिट गर्दा मृत्यु भएको पीडित परिवारको आरोप छ ।

आरोपितहरु विरुद्ध पुस ६ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र आरोपित पक्षबाट मिल्न दवाव दिइरहेकोले कानुन अनुसार कारबाही हुनु पर्ने र त्यसका लागि पहल गरिदिन मृतकको छोरा दिनेश मण्डलले अनुगमन टोलीसँग आग्रह गर्नु भयो ।
इलाका प्रहरी कार्यालय सुगानिकासमा न्यायका लागि जाँदा आफुहरुलाई बाहिर निकाली आरोपितहरुको कुटपिटबाट घाइते हुनु भएका ससुरा दिपा भनिने जयनारायण मण्डललाई प्रहरीले घोक्र्याउँदै कोठामा थुनि दिएको मृतकका बुहारी सरिता कुमारी मण्डलले बताउनु भयो ।
गाउँको भद्रभलादमीलाई बोलाएपछि प्रहरीले ससुरालाई जिम्मा दिएपछि तत्कालै स्थानीय क्लिनिकमा लगेकोमा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएकोमा डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनु भयो ।
प्रहरीले समयमा उपचारका लागि लैजान नदिएका कारण ससुराको मृत्यु भएको मृतकका बुहारी सरिता कुमारीको आरोप छ ।
प्रहरीको लापरबाहीका कारण दिपा भनिने जयनारयाण मण्डलको मृत्यु भएको भन्दै स्थानीयले पुस ६ गते विहान इलाका प्रहरी कार्यालय सुगानिकासमा आक्रमणसमेत गरेका थिए । स्थानीयले प्रहरी कार्यालयमा अक्रमण गरेपछि प्रहरीले चलाएको गोली लागी हंशपुर नगरपालिका-५ सुगानिकासका ३६ वर्षीय शिवशंकर मण्डल र ३२ वर्षीय मोतलुव अन्सारी घाइते भएका थिए । घाइतेहरुलाई प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । घाइते मध्ये शिवशंकर मण्डललाई सोही दिन थप उपचारका लागि काठमाडौँ लगिएकोमा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका सई दिलिप कुमार श्रेष्ठले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी मित्र बन्धु शर्माले मृतक मण्डलको सामान्य चोट देखिएकोले दुबै पक्षलाई छलफल गराई इलाका प्रहरी कार्यालयका इन्चार्जले पठाएको बताउनु भयो । तर, उनको मृत्युपछि भएको घटनाका कारण इलाका प्रहरी कार्यालयका इन्चार्जसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तानिएको उहाँले बताउनु भयो । आरोपित मध्ये स्थानीय शिवशंकर ठाकुरलाई गिरफ्तार गरि घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भयो ।
यसैबिच घटना लगतै इन्सेक र एडभोकेसी फोरमले गरेको स्थलगत अध्ययन प्रतिवेदन अनुसार न्यायका लागि इलाका प्रहरी कार्यालयमा पुग्दा इलाका प्रहरी कार्यालय सुगानिकासका सइ बालमुकुन्द ठाकुरले मण्डललाई उपचारका लागि पठाउनु पर्नेमा प्रहरी कार्यालयको एक कोठामा थुनेर राखेको र समयमा उपचार नगराएका कारण उनको मृत्यु भएको जनाएको छ । घटनाको मिहिन ढङ्गले अनुसन्धान गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न र प्रहरी कार्यालयमा देखिएको लापरबाहीप्रति गम्भीर हुन सम्बन्धित पक्षलाई प्रतिवेदन मार्फत सुझाव दिएको छ ।







