महोत्तरी - चिसो मौसम बढ्दै गएपछि महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ घर भएका युवा नेता एवं समाजसेवी प्रमोद कुमार महतोले गौशाला नगरपालिकाका विभिन्न स्थानमा दाउरा वितरण गर्नुभएको छ।
नगरपालिकाका मुख्य चोक, गौशाला बजार, गरिब बस्ती तथा मुसहर बस्तीमा दाउरा वितरण गरी आगो बालेर न्यानो पार्ने व्यवस्था गरिएको समाजसेवी महतोले जानकारी दिनुभयो। उहाँका अनुसार चोक–चोकमा मानिसको जमघट हुने स्थानलाई लक्षित गरी दाउरा वितरण गरिएको हो।

उहाँले आफ्नै खेतमा रहेको रुखबाट तयार गरिएको करिब ३० वटा खुट्टाको दाउरा व्यक्तिगत लगानीमा निःशुल्क वितरण गर्नुभएको हो। यसैक्रममा गौशाला नगरपालिका–५ स्थित विद्युत् कार्यालय, मालपोत कार्यालय, श्री त्रिभुवन माध्यमिक विद्यालय, नापी कार्यालय तथा गौशाला बजारको मुख्य चोकमा पनि दाउरा वितरण गरिएको थियो।
केही दिनदेखि महोत्तरीसहितका क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण गरिएको स्थानीयवासीले बताएका छन्। स्थानीय किसन ठाकुरले युवा नेता एवं समाजसेवी प्रमोद कुमार महतोको प्रशंसा गर्दै भन्नुभयो,महतोले चिसो मौसममा गरिब, असहाय तथा सर्वसाधारणलाई लक्षित गरेर दाउरा वितरण गर्नु अत्यन्तै सराहनीय काम हो। यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश जाने विश्वास छ।
यस्तै, अर्का स्थानीय युवा अमित सिंहले पनि महतोको कार्यको खुलेर प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो,यसरी व्यक्तिगत लगानीमा दाउरा वितरण गर्नु उदाहरणीय काम हो। चिसो मौसममा सर्वसाधारणलाई न्यानो दिलाउन गरिएको यो पहलले अन्य युवाहरूलाई पनि सामाजिक सेवातर्फ प्रेरित गर्नेछ।

मुसहर बस्तीका स्थानीय चन्देश्वर सादले पनि समाजसेवी महतोप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,हामीजस्ता गरिब र विपन्न समुदायका लागि जाडो मौसम निकै कष्टकर हुन्छ। यस्तो बेला महतोले दाउरा वितरण गरेर हामीलाई न्यानो दिलाउनुभएको छ। उहाँको यो काम अत्यन्तै मानवीय र प्रशंसनीय छ।
युवा नेता एवं समाजसेवी महतोले चिसोबाट जोगिन सम्भव भएसम्म चोक–चोकमा दाउरा वितरण कार्यलाई निरन्तरता दिने र आवश्यक परे कपडा समेत वितरण गर्ने बताउनुभयो। उहाँका अनुसार आज मात्रै करिब ३० क्विन्टल दाउरा वितरण गरिएको छ भने यस जाडो मौसममा करिब १०० क्विन्टल दाउरा वितरण गर्ने लक्ष्य राखिएको छ।
दाउरा वितरण कार्य युवाहरूको सहभागितामा सम्पन्न गरिएको बताइएको छ।








