मलेसियामा साढे तीन बर्षको अबधिमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मृत्यु भएको छ । मलेसियाको मानव अधिकार आयोग (सुहाकाम)ले नेपाली श्रमिको उच्च मृत्युदरबारे अध्ययन गर्ने भएको छ ।
सुहाकमलाई त्यहाँस्थित नेपाल दूतावासले दिएको प्रतिवेदनलाई अध्ययन गर्दा त्यहाँ मृत्यु हुने नेपाली नागरिकको संख्यामा वृद्धि भएको जनाएको छ । सुहाकम कमिश्नर जेराल्ड जोसेफका अनुसार आयोगले नेपाली दूतावासबाट सूचना प्राप्त गरेको विवरणमा सन् २०१८ देखि जुलाई २०२१ को बीचमा १ हजार १ सय ५८ जना नेपाली श्रमिकको मलेसियामा मृत्यु भएको जानकारी दिएका छन् ।
यसरी मृत्यु हुनेहरु मध्ये बहुसंख्यकको मृत्युको कारण आत्महत्या,कार्यस्थल दुर्घटना निमोनिया, कोभिड १९ तथा अन्य रोगहरु रहेको स्थानीय सञ्चार माध्यम मालयमेलले जनाएको छ । नेपालीको उच्च मृत्युदर बारे अध्यनमा श्रम विभाग वा सुरक्षा विभाग र स्वास्थ्य विभागलाई पनि संलग्न गरिने कमिश्नर जोसेफले बताए ।
सुहाकमले पत्रकार सम्मेलन गर्दै मृत्युको कारण र यसमा को जिम्मेवार हुने भन्ने बिषयमा पनि अध्यनमा गर्ने जनाएको छ । उनका अनुसार आयोगले यस विषयमा नेपाली दूतावासका कर्मचारी र सम्बन्धित एजेन्सीहरूसँग थप जानकारी लिई अनुगमन गर्ने जनाएको छ ।
मलेसियामा हरेक दिन एक जना नेपालीको मृत्यु हुने त्यहाँ क्रियासिल विभिन्न संघसस्था तथा श्रमिकहरुले बताउने गरेका छन् । मलेसिया नेपालजस्तै हावापानी र वातावरण भएको मुलुक हो । जहाँ करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् ।