
जनकपुरधाम- मधेस प्रदेश सरकार स्थापनाकालदेखि नै मधेश प्रदेशको अर्थ मन्त्रालयमा ६ वर्षदेखि लेखा अधिकृतको रुपमा बिजय कुमार चौधरी कार्यरत रही सेवा सुविधामा एकलौटी रुपमा रजाइँ गरिरहेका छन् । जिन्सी प्रमुख ब्रम्ह नारायण प्रसाद यादवसँगको सेटिङ्गमा उनी वर्षौदेखि इन्धन र सवारी साधन प्रयोगमा मनपरी ढङ्गले दुरुपयोग गरिरहेका छन् ।
मधेश प्रदेश सरकारका निजामती कर्मचारीको सुविधा सम्बन्धी मापदण्डमा महाशाखा प्रमुख, कार्यालय प्रमुख, सचिव, प्रमुख सचिवले मात्र चारपाङ्ग्रे सवारी प्रयोग गर्न पाउने व्यवस्था रहेपनि वर्षौदेखि उनले चारपाङ्गे सवारी (हाल ज१झ४४१ नम्बरको सवारी) प्रयोग गरिरहेका छन् । त्यस्तै अधिकृतस्तर कर्मचारीले मासिक १० लिटर पेट्रोल मात्र पाउने व्यवस्था रहेपनि अधिकृत चौधरीले मनपरी ईन्धन प्रयोग गरिरहदाँ समेत सम्बन्धित व्यक्ति मौन छन् ।
यतिमात्रै होइन मधेश भवनभित्र रहेको आवासमा पनि उनले दादागिरी नै गरिरहेको पाईएको छ । कर्मचारीले आवासको सुविधा पाउँदा १ जना कर्मचारीले १ वटा कोठा प्रयोग गर्ने परिपाटी रहेपनि अधिकृत चौधरीले खाली रहेका अन्य कोठाहरूमा अन्यत्रै काम गर्ने आफ्ना आफ्न्तहरूलाई महिनौंदेखि राखी सुविधाको व्यापक दुरुपयोग गरिरहेकि छन् ।
यता मधेश प्रदेश सरकारका अधिकृतस्तरका कर्मचारीहरूले समेत आवासको सुविधा प्रयोग गर्न नपाई रहेको अवस्थामा अधिकृत चौधरीले अर्थ मन्त्रालयमा अड्डा जमाई बसी व्यापक अनियमितता र सेवा सुविधाको कानून विपरीत दुरुपयोग गरिरहदा समेत सम्बन्धीत निकायको ध्यान जान सकेको छैन ।
कर्मचारीहरूको २ वर्षमा सरुवा हुनु पर्ने कानूनी व्यवस्था रहेपनि निज ६ वर्षसम्म एउटै अड्डामा बसिरहँदा पनि पावरको भरमा सरुवा नभएको देखिन्छ । पावर हुनेहरू बलजबर्जस्ती रुपमा सेवा सुविधाको उपयोग गरिरहेपनि सोझा सिधाको कुरा कसैले सुनिरहेको अवस्था नरहेको मधेश प्रदेश सरकारकै एकजना कर्मचारीको गुनासो छ । उनी भन्छन्–’यस्तो अवस्था कहिले सम्म रहिरहने हो ठेकान छैन् ।’
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भ्रष्टाचारको अन्त्य गर्छु भनेका थिए । तर, उनको भनाइ पनि अहिले प्रभावहिन सावित भईरहेको छ ।
एकजना कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘मुख्यमन्त्रीले भ्रष्टाचार अन्त्य गर्छु भनेको थियो । त्यो गफ मात्रै रहेछ । वहाँकै संरक्षणमा भ्रष्टाचार मौलाई रहेको छ । पावरको बलमा एकैजनाले दुई–दुई वटा जिम्मेवारीमा रहेको यसको प्रष्ट उदाहरण हो ।’
प्रदेशमा समायोजन भएको कर्मचारीहरु सरुवा गर्ने अधिकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कै छ ।
अर्थ मन्त्रालयको खाली दुईवटा कोठा लेखाअधिकृत चौधरीले प्रयोग गरिरहेको मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टराईले स्वीकारे । उनका अनुसार खाली ती कोठामा अन्य कर्मचारी नभएपछि लेखाअधिकृत चौधरीले प्रयोग गरिरहेको बताए । तर, मन्त्रालयमा सरुवा भई अन्य कर्मचारी आएको अवस्थामा उनले प्रयोग गरिरहेको कोठा छोड्नुपर्ने उनको भनाइ छ ।
‘अस्तीसम्म त्यो कोठाहरुमा कर्मचरी बसिनै रहेको थियो, उनले भने, केही दिन अगाडी दुईजना कर्मचारी सरुवा भएर गएपछि खाली भएको हो । र मनपरी तथा सेवासुविधाको दुरुपयोग कसैले गर्न पाउँदैन।’
कहिलेकाही उनको आफन्त आउँदा मात्रै खाली कोठा प्रयोग भईरहेको सचिवले बताएपनि एकजना कर्मचारीका अनुसार ती कोठामा जनकपुरधामस्थित भाटभटेनीमा काम गर्ने लेखाअधिकृत चौधरीको आफन्त बसिरहेको बताए ।
उता चारपाङ्गे सवारीको लेखा अधिकृत चौधरीले नै प्रयोग गर्ने गरेको जिन्सी शाखाका कर्मचारीले पनि स्वीकारेका छन् । उनका अनुसार लेखा अधिकृत चौधरीले कार्यालय प्रयोजनमा उक्त चारपाङ्गे सवारी प्रयोग गर्ने गरेको बताएका छन् ।
अर्थ मन्त्रालयमा अहिलेसम्म दरबन्दीको तुलनामा ३० प्रतिशत कर्मचारी मात्रै रहेको सचिव भट्टराईले बताए । ७० प्रतिशत कर्मचारी मन्त्रालयमा खालीरहेको बताउँदै उनले काम गर्न धेरै अप्ठयारो भईरहेको बताए ।
मधेश भवनभित्रको मनपरी रुपमा उनले मात्रै होईन व्यक्तिहरूले प्रयोग गरिरहेको बुझिएको छ । स्रोतका अनुसार अर्थमन्त्रीका स्वकीयसहित सचिवालयका केही व्यक्तिहरुलाई पनि सो खाली कोठा बस्नको लागि सचिवले उपलब्ध गराईएको थिएन् । मन्त्री निकट सचिवालयका ती व्यक्ति भन्छन्, ’हामीलाई त्यो कोठा बस्नको लागि उपलब्ध गराईदिनुस् भनेपछि खाली छैन् भन्दै सचिवले टारेका थिए ।’
उनका सचिवालयका व्यक्तिहरू मधेश भवन बाहिर कोठा भाडा लिएर बसिरहेका छन् ।-नागरीक मिरर