
जनकपुरधाम- सिके राउत नेतृत्वको जनमत पार्टीले चार प्रदेश सांसदलाई कारबाही प्रक्रिया अघि बढाउने भएको छ।
आफ्ना १६ प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकनका लागि जनमत पार्टीले आन्तरिक मतदान गराएको थियो।
भदौ २ गते भएको अनुमोदन रेटिङको मतदानका क्रममा चार सांसद फेल भएका छन्।
फेल हुनेमा सिरहाका त्रिभुवन साह र भाग्यश्री कुमारी चौधरी छन्।*
साहको पक्षमा २० र विपक्षमा ७८ मत परेको थियो। चौधरीको पक्षमा २१ र विपक्षमा ७९ मत परेको थियो।
त्यस्तै महोत्तरीका चन्दनकुमार सिंह र अनिता कुमारी साह पनि फेल भएका छन्।*
सिंहको पक्षमा १४ र विपक्षमा २८ मत परेको थियो। त्यस्तै साहका पक्षमा १४ र विपक्षमा २३ मत परेको थियो।
सम्बन्धित क्षेत्रका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सो पदका प्रत्यासी मतदानमा सहभागी थिए। जिल्ला परिषद सदस्य र सोही भूगोलका केन्द्रीय सदस्यसमेत मतदानमा सहभागी थिए।
अनुमोदन रेटिङमा फेल भएका सांसदहरूलाई के गर्ने भनेर पार्टीमा छलफल गर्ने जनमत पार्टीका सचिव विपी साहले बताए।