
महोत्तरी(औरही) -तराई मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहल पहल सुरु भएको छ। साउन शुक्लपक्ष शुरु भएसँगै सिंगो तराई–मधेसका गाउँ,नगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धून गुञ्जि रहेको छ। आउने बिहिवार (भदौं १४ गते ) यो पर्व धुमधामका साथ मनाउने तयारी दिदी बहिनीहरुले गरेका छन्।
दाजुभाइ तथा दिदी,बहिनी बीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् साँस्कृतिक पर्व भएको मिथिला लोकसंस्कृतिका ज्ञाताहरु बताउँछन्। अहिले महोत्तरी जिल्लाको औरही नगरपालिका १ मा लाग्ने औरही बाजार देखि तराई–मधेसका हाटबजारहरुमा आ–आफ्ना दाजुभाइलाई बाँधिने राखी किन्न किशोरी, युवती, महिलाहरुको निकै चहलपहल देखिन्छ। विवाह भएर गएका चेलीहरु मोबाइल फोन, चिट्ठीको र नेटका साधनबाट आफ्ना दाजुभाइ कहाँ छन् पत्ता लगाएर राखी बन्धनमा आउने निम्तो दिने क्रम चलिरहेको छ।

त्यसैगरी अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बन्धनमा आउने निम्तो दिनमा तल्लीन छन् । दाजुभाइ प्रति देखाइने प्रेम र पर्वको पूर्व तयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न औरहीबजार पुगेकी औरही २ की मंजु यादव र गौशालाबजार पुगेकी गौशाला नगरपालिका १० की रंजना महतो बताउँछिन् । आउने विहिवारका दिन मनाइने यस पर्वका लागि अहिले सिङ्गो तराई मधेश क्षेत्रको दिदीबहिनी नै उत्साहित देखिन्छन् । अर्कातिर, राखीको कारोवार गर्ने व्यापारी उत्तिकै व्यस्त छन् । ग्राहकको रोजाइमा परेका राखीको डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीहरुको भनाइ छ।

सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल ) को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा छ। पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनी कै हातबाट राखी बाँधिनु रहेको छ।

मधेसी समुदायले मनाउने यस रक्षा बन्धन पर्व पछिल्ला दिनहरुमा पहाडी समुदायका दाजु भाइ दिदी बहिनी बीच उत्साहका साथ मनाउन थालेका छन् ।
त्यसैगरी विगतमा हिन्दु धर्मावलम्बीले मात्र मनाउने यो पर्व पछिल्लो समय साँस्कृतिक घुलमिलले इस्लाम धर्मावलम्बीले पनि मनाउने गरेका छन्। देखासिकीमात्र नभई पर्वको रमाइलो तथा आत्मीय आकर्षणका कारण इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेका हुन्।
