
महोत्तरी - अधिकांश गरिब तथा दलित समुदायका बालबालिका सामुदायिक विद्यालयमा पढ्छन्। तर, उनीहरूलाई त्यहाँ बसेर पढ्ने वातावरण छैन। पढिरहेका बालबालिकाको शैक्षिक गुणस्तर निकै कमजोर छ।
यस्तै विभिन्न समस्याले ग्रस्त महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरमा छ जनमुखी आधारभूत विद्यालय। जुन विद्यालयको हालत देखेर एउटा भिन्न अभियान चलाएका छन्, सञ्चारकर्मी राजकरण महतोले।
‘विद्यालय सुधार अभियान’ नाम दिएर उनले बालबालिकाको भविष्यलाई सुरक्षित पार्ने प्रयास गरेका हुन्। सामुदायिक विद्यालयलाई नमुना बनाउन वडाध्यक्ष घुरन महतोको उपस्थितिमा अभियानको घोषणा गरिएको छ।
अभियानअन्तर्गत विद्यालयमा चौतारा, बालउद्यान, गार्डेन, भवन, भौतिक संरचनाको मर्मतसम्भारलगायतका काम गरिने पत्रकार महतोको भनाइ छ। ‘मुट्ठीदान अभियान चलाएर विद्यालयको विकासका लागि सहयोग जुटाइनेछ’, उनले भने, ‘विद्यालयलाई बालमैत्री, प्रकृतिमैत्री तथा गुणस्तर शिक्षामा जोड दिनु अभियानको मुख्य मर्म हो।’
विद्यालयमा चौतारा, बालउद्यान, गार्डेन, भवन, भौतिक संरचनाको मर्मतसम्भारलगायतका काम गरिने ।प्रकृतिमैत्री तथा गुणस्तर शिक्षामा जोड दिइने ।यसअघि महतोको योजना तथा जनसहयोगी युवा सञ्जाल बर्दिबासको सक्रियतामा राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लामा ६० लाख लागतमा बालउद्यान निर्माणको काम थालिएको थियो। तीन वर्षअघि थालिएको सो विद्यालय सुधार अभियानले मुहूर्त आकार ग्रहण गरिसकेको छ।
जनमुखी आधारभूत विद्यालयमा कक्षा ५ पास भएपछि ६ देखि १२ कक्षासम्म पढ्न राष्ट्रिय मावि बनरझुल्लामा आउँछन्। त्यसैले जनमुखी पनि रूपान्तरण हुन सके त्यसको प्रभाव मावि स्कुलमा पर्नेछ।
घोषणाकै दिन जनमुखी अधारभूत विद्यालयमा चौतारा निर्माणका लागि शिलान्यास गरिएको छ। जहाँ हरित स्कुल निर्माणका लागि बिरुवा रोपिएका छन्। विद्यालय व्यवस्थापन समितिमा स्थानीय युवा रामएकवाल महतोको समूह आएपछि विद्यालय विकासका लागि निरन्तर विद्यालय रूपान्तरणका लागि काम भइरहेको शिक्षक सञ्जितकुमार महताले जनाए। विद्यालयमा १ सय ३० बालबालिका पढिरहेका छन्।
सामुदायिक विद्यालय रूपान्तरणका लागि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकारले विशेषरूपमा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा पत्रकार महतोको जोड छ। उनले भने, ‘विद्यालयमा विद्यार्थीलाई नियमित उपस्थित, हेरचाह तथा निगरानीका लागि टोलटोलमा आमा शिक्षा सहयोग समिति गठन गरेर काम गर्नुपर्ने आवश्यकता छ।’

























