
जनकपुरधाम- नेपाल रेल्वे कम्पनी र जनकपुरधामका भी आयलबीच तीन दिन भित्र बाँकी भुक्तानी गर्ने सहमति भएपछि पम्पले तेल उपलब्ध गराएको छ ।
गत साउन १ देखि भदौ १५ गते सम्म गरी कुल २६ लाख ३४ हजार भन्दा बढी रकम बक्यौता रहेका कारण भदौ १५ गते सम्म भुक्तानी नगरे तेल नदिने चेतावनी पेट्रोल पम्पले दिएको थियो । नेपाल रेल्वेमा हाल महाप्रबन्धक छैनन् । भदौ २ गते कार्यकाल समाप्त भएपछि निरन्जन झा हटेका छन् । सरकारले उनैलाई अथवा अर्कालाई नियुक्ति गरिसकेको छैन् ।
आर्थिक कारोबार गर्ने अधिकार महाप्रबन्धककै रहेकाले अर्को महाप्रबन्धक नआउञ्जेल पम्पलाई रकम भुक्तानी गर्न नसक्ने भनिएपछि भी आयलले तेल दिन असमर्थता जनाएको थियो । भी आयलका सञ्चालक बजरंग साहले भने–‘शनिवार नेपाल रेल्वेका कर्मचारी आएर तीन दिनको समय माग गरेपछि सधै भरि काम भइरहने भएकाले तीन दिन तेल दिन सहमत भएको बताए । रेल्वेका कर्मचारीहरु दुई दिन भित्र महाप्रवन्धक आइ सक्ने भएकाले भुक्तानी गरिदिने प्रतिवद्धता जाहेर गरेपछि आफूहरुले रेल्वेलाई तेल दिन तयार भएको सञ्चालक साहले बताए । रेललाई दैनिक ४ सय लिटर डिजेल खपत हुने गरेको छ ।
नेपाल रेल्वे आफ्नो ट्यांकर लिएर भी आयलबाट दैनिक डिजेल ल्याउने गरेको छ ।