
धनुषा- जनकपुरमा मिटरव्याज पीडितहरुले प्रशासनविरुद्ध प्रदर्शनसहित नाराबाजी गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको आयोजनामा प्रदर्शन गरेका प्रदर्शनकारीहरुले मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नाराबाजी समेत गरेका हुन् ।
उनिहरुरले मण्डल कुट्टीबाट जुलुस निकाली विभिन्न भागको परिक्रमा सहित प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरे । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका उनिहरुले बिचौलियाको रूपमा काम गर्ने कर्मचारीलाई तत्काल छलफलबाट हटाउनु पर्ने, विभिन्न राजनितिक दल र जनप्रतिनिधिहरुको अनावश्यक हस्तक्षेप बन्द हुनु पर्ने लगायतका मागहरु अघि सारेका छन् ।

यस्तै उनिहरुले तीन पटकसम्म बोलाउदा पनि नआउने सुदखोरहरुलाई गिरफतार गरी आवश्यक कार्यावाही गर्नुपर्ने, मिटरब्याजी कक्षमा पिडीतलाई धम्काउने डेराउने र पकाउने काम बन्द गर्नुपर्ने, मिटरव्याजीमाथि पीडितको रकम र जग्गा अविलम्ब फिर्ता गर्नुपर्ने र मिटरव्याजी उपर कानुन बमोजिम अनुचित लेनदेन जाहेरी दरखास्त दर्ता गर्नुपर्ने लगायत ८ सुत्रीय माग राखेका छन् ।
उक्त मागहरु कार्यान्वयन नभएमा थप आन्दोलनको घोषणा गर्ने संघर्ष समिति धनुषाका अध्यक्ष राजाराम यादवले जानकारी दिए।

