
जनकपुरधाम- सरोकारवाला निकाय मौन बस्दा जनकपुरधाम उपमहानगरपालिकाको फोहोर व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापनमा निरन्तर प्रयास तथा पहल गर्दै आएको ए टु जेड एनोभेटिभ इन्डष्ट्रिजनसँग सम्बन्धित संस्था अर्थ क्लिन ग्रीन फाउण्डेसनले जनकपुरधाम वडा नं. २३ बिन्हीस्थित ल्याण्डफिल्ड साइट सञ्चालनमा ल्याएको अढाई वर्ष भए पनि क्षमता अनुसारको फाहोर सङ्कलन हुन सकेको छैन ।
जनकपुरधामको २५ वडामध्ये वडा नं. ४ को मात्र फोहोर सङ्कलन गर्ने जिम्मेवारी पाएको अर्थ क्लिन ग्रीन फाउण्डेशनले २५ वटै वडाको जिम्मेवारी लिन सक्ने क्षमता रहेको दावी गर्दै आए पनि सरोकारवाला निकाए मौन बस्दा फोहोर व्यवस्थापन गर्ने साधन हुँदा पनि फोहोर व्यवस्थित गर्न नसकेको फाउण्डेसनका अध्यक्ष दिपु ठाकुरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हालसम्म जनकपुरधाको वडा नंं. ४ मात्रै फोहोर सङ्कलन गर्ने अनुमति उपमहानगरले फाउण्डेसनलाई दिएको छ । यसमा पाँच सय घरपरिवारको फोहोर सङ्कलन गर्ने कार्ड बनाइयो तर ८० जनाले मात्र नियमित फोहोर दिइरहेका छन् । बाँकी ४२० घरले फोहोर दिन मान्दैनन् । यदि उपमहानगरले नगरबासीलाई फोहोर व्यस्थापनमा समन्वय गरिदिन पहल गर्यो भने जनकपुरधामको प्रमुख समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन गर्न सम्भव हुनेछ ।”
सात वर्षसम्मको निरन्तर प्रयासले १० कठ्ठा २ धुरमा सञ्चालन गरेको ल्याण्डफिल्ड साइट स्थापन भयो । जसले जनकपुरधाम, नगराईन नगरपालिका, मटिहानी नगरपालिका र पिपरा गाउँपालिकाको फोहोर पनि सङ्कलन गरिहेको छ तर, त्यति फाहोर पर्याप्त नरहेको अध्यक्ष ठाकुरले बताउनुभयो । जनकपुरधाम-४, प्रदेश राजधानीमा रहेको मन्त्रालय परिसर र महोत्तरीको पिपरा गाउँपालिकाको मात्र फोहोर सङ्कलन गरिरहेको छ । एक सय टन फोहोर निर्मलीकरण गर्ने क्षमता भएको मेसिनको स्राेत व्यवस्था गरिएको छ । जसले दैनिक ५० टन फोहोर निर्मलीकरण गर्दै आएको अध्यक्ष ठाकुरले बताउनुभयो ।
जनकपुरधाको बाँकी २४ वटै वडाको फोहोर उपमहानगरपालिकाले नै उठाउँदै आएको छ जसमा बजार क्षेत्रको फाेहोर मात्र उठ्ने गरेको छ । उक्त फोहोर व्यवस्थापनको दीर्घकालीन योजना उमहानगरसँग नहुँदा तत्कालका लागि एक ठाउँबाट अर्को ठाउँमा फाल्दै छ । कहिले खाली जमिन भर्न, कहिले सडकको छेउछाउमा फोहोर फालेर बजारको फोहोर विसर्जन गर्ने हुँदा साँगुरा गल्लीकाे फोहोर उठ्न नसकेको ठाकुरले बताउनुभयो ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनभएका जनकपुरधामका वर्तमान प्रमुख मनोकुमार साहको चुनावी एजेण्डामध्ये पहिलो प्राथमिकता थियो, ‘एक वर्षभित्र जनकपुरधामको फाेहोर व्यवस्थापन गर्ने’ तर, दोस्रो वर्ष लागे पनि फोहोर व्यवस्थापनको पहल अगाडी बढ्न सकेको छैन । उपमहानगरले प्रत्येक वडालाई फोहोरको सङ्कलनको जिम्मेवारी दिएसँगै ट्याक्टर वितरण गरेको छ।
जनकपुरधामका प्रमुख साहका अनुसार फुटपाथ व्यवस्थापन गर्ने, फोहोर पनि चाँडै नै व्यवस्थित गर्ने लगायत फोेहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको मागसहित टेण्डर निकालिएको छ। अब फोहोर व्यवस्थापनमन लागि निजी संस्थाहरुसँग सहकार्य गरेर काम गर्ने उहाँले बताउनुभयो ।
उपमहानगरले एक करोड ३८ लाख ९० हजार रुपियाँको लागतमा १० वटा ट्याक्टर खरिद गरेको छ भने यस अघि उपमहानगरसँग ५ वटा ट्याक्टर र ११ वटा ट्रिपर मात्रै थियो । नयाँ ट्रैक्टर खरिद भएसँगै नगर सफाइमा थप सुधार आउने नगर प्रमुख साहले प्रतिबद्धता जाहेर गर्नुभएको छ ।