
धनुषा-मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रबहादुर सिंहले आत्महत्याका घटनाहरू दिनानुदिन बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ । यसको नियन्त्रणका लागि सरोकारवाला सबैको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।
सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँले बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा गरेको आत्महत्या रिपोर्टिङसम्बन्धी पत्रकार अभिमुखीकरण कार्यशाला गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले पारिवारिक कलह, सामाजिक समस्या, परीक्षामा असफलता, आर्थिक सङ्कट, प्रेममा असफलताजस्ता कारणले मानसिक स्वास्थ्यमा समस्या आएर आत्महत्याका घटनाहरू हुनेगरेको भन्दै मान्छेको मानसिक स्वास्थ्य सबल बनाउन पत्रकारले कलम चलाउनु पर्ने बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निमित्त निर्देशक शिला श्रेष्ठले अनुपातमा नेपालमा हरेक दिन १९ जनाले आत्महत्या गर्ने गरेको र यो एउटा भयावहको अवस्था भएको बताउनुभयो । यसको नियन्त्रणका लागि जनचेतना फैलाउन सङ्घ सरकारले स्थानीय तहलाई बजेट समेत उपलब्ध गराउने गरिएको भन्दै त्यसको सही कार्यान्वयन नदेखिएको उहाँको भनाइ छ ।
उहाँले मधेश प्रदेशमा गत आर्थिक वर्षमा ४२२ जना महिला र ४६५ जना पुरुषले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग रहेको र यसले महिलाभन्दा पुरुषले बढी आत्महत्या गर्ने गरेको बताउनुभयो । त्यसैगरी गत आर्थिक वर्षमा मधेश प्रदेशमा १७५ जना बालिका र ५९ जना बालकले आत्महत्या गरेको तथ्याङ्क रहेकाले तीनै तहको सरकारले यसको नियन्त्रणका लागि गम्भीर हुन आवश्यक देखिएको बताउनुभयो ।
प्रत्येक वर्ष ७ हजारको हाराहारीमा आत्महत्याबाट मान्छेको ज्यान जानेगरेको भन्दै निर्देशक श्रेष्ठले दिगो विकासका लक्ष्यअन्तर्गत सुस्वास्थ्यको लक्ष्य पनि पर्नेगरेकाले दिगो विकासका लक्ष्य प्राप्तिका लागि यसको नियन्त्रण गर्नु हामी सबैको साझा सरोकारको विषय भएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश अध्यक्ष राजेशकुमार कर्णसहितले धारणा राख्नुभएको थियो ।