
जनकपुरधाम- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनाको विरोधमा नेपाली काँग्रेस क्षीरेश्वरनाथ नगरपालिका नगर समितिले विरोध प्रदर्शन गरेकाे छ।

घाइते यादवको निर्वाचन क्षेत्र समेत रहेको क्षेत्र नम्बर ४ को केन्द्र महेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनको क्रममा गृहमन्त्री विरुद्ध चर्का नाराबाजी गर्नुको साथै दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।

नगर समितिको आयोजना गरिएको सो विरोध जुलुस महेन्द्रनगर सखुवा चाेकबाट सुरु भइ नगर परिक्रमा गरी पुन: सखुवा चोक आइमा कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बाेधन गर्दै नगर समितिका सभापति लालबाबु यादवले सुनियोजित ढंगले सहमहामन्त्री यादवमाथि संघातिक आक्रमण गरिएकोले यसको उच्च स्तरीय छानबिन हुनु पर्ने माग गरेका थिए । उनले घटनाको पछाडि कसको हात रहेको छ त्यस बारे सत्यतथ्य बाहिर ल्याउन छानबीन हुनु पर्ने बताए ।

नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादव माथी गत बुधवार दिउँसो काठमाडौंमा भएको सँघातिक आक्रमण भएको थियो ।