
सप्तरी- सुरुङ्गा नगरपालिका वडा नं.३ ले बालमैत्री वडा घोषणा गरेको छ । शुक्रार राष्ट्रिय बालदिवस २०८० को अवसरमा बालमैत्री घोषणा समारोहमा मधेश प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय गोविन्द बहादुर न्यौपानेले ३ नं.वडालाई बालमैत्री वडा घोषणा गरेका हुन् ।
सुरुङ्गा नगरपालिका ३ नम्बर वडा अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक किरण पोख्रेलको अध्यक्षतामा सञ्चालन भएको घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपाने बालमैत्री स्थानीय शासनको सूचकहरु पुरा गरी बालमैत्री घोषण गर्न सफल भएकोमा वडालाई धन्यवाद दिएका छन् ।
बलमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकाँश सूचक पुरा गरेर बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक किरण पोख्रेले बताए । अध्यक्ष पोख्रेलका अनुसार बालमैत्री वडा निर्माणको सूचक तथा मापण्डहरु पूरा गर्दै बालबालिकाको अधिकार स्थानीय नीति, नियम, कार्यक्रम र बजेट समावेश गरिएको छ । यो वडा बालमैत्री वडा घोषणासँगै यो वडा जिल्लाकै दोस्रो नगरपालिकाको पहिलो बालमैत्री वडा बनेको छ । यस अघि सप्तरी जिल्लाको कञ्चनपुर नगरपालिका मधेश प्रदेशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा गर्ने नगर भइसकेको छ ।
संघीय सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक र सुरुङ्गा नगरपालिकाले थप गरेको २ गरी ५३ सूचकहरुमध्ये अधिकाँश सूचक पुरा गरेसँगै वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । निर्देशिकाको अनुसूची ३ मा बालमैत्री स्थानीय शासनका ५१ सूचकहरु छन् । तोकिएको सुचकहरुमध्ये ८० प्रतिशत्भन्दा बढि अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सिकने निर्देशिकामा उल्लेख छ ।
घोषणा सभामा जिल्ला समन्वय समन्वय समिति सप्तरीका सभापति शिव नारायण साह, सुरुगा नगर पालिकाका उपप्रमुख रुद्र बहादुर कार्की, निवर्तमान नगर प्रमुख मुक्तिनाथ चौधरी, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नारायण शर्मा, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, स्थानीय प्रहरी, महिला समूहका प्रतिनिधिहरु, जिल्ला बाल सञ्जाल सप्तरीका अध्यक्ष सल्मा खातुन, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजेवीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
सुरुङ्गा नगरपालिका यसअघि नै प्रदेशकै पहिला बालविवाह मुक्त स्थानीय तह घोषणा भइसकेको छ । वडालाई बालमैत्री घोषणाका लागि नगरपालिका, वडा कार्यालय, सेभ द चिल्ड्रेन र सबल नेपालले बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताको क्षेत्रका विभिन्न क्रियकालापहरु सञ्चालन गर्दै आएको छ ।