
जनकपुरधाम- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय गणतन्त्रको संस्थागत विकास गर्दै समावेशी लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
पार्टीको सङ्गठन विस्तार अभियानको जनकपुरधाममा शुभारम्भ गर्दै अध्यक्ष यादवले पूर्ण समावेशी प्रशासन सहितको लोकतन्त्रको स्थापनाका लागि पार्टीले प्रदेशदेखि केन्द्रसम्म अभियान चलाइरहेको बताउनुभयो ।
उहाँले मधेशी जनताले जहिले पनि लोकतन्त्र र समावेशीताका लागि सङ्घर्ष गरेको बताउँदै मधेश प्रदेश सरकारले पूर्ण समावेशी नीति अनुसार ऐन कानूनको निर्माण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले अब आउने चुनावमा पार्टीलाई मधेशकाे पहिलो पार्टी बनाइने बताउनुभयो । उहाँले प्रदेश सरकार पार्टीको साथमा रहेको बताउँदै सङ्गठन विस्तारका लागि आफू सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले पार्टी सङ्गठनलाई मजबुत बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आव्हान गर्नु भयो ।