
सप्तरी - नेपालका प्रसिद्ध शक्तिपीठमध्ये सप्तरीको छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरमा भगवतीको पुरानै मुकुट राखिने भएको छ ।
भगवतीको नयाँ मुकुट दिँदा दाताले त्यसमा आफ्नो नाम उल्लेख गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो । विरोध भएपछि मन्दिरका पिठाधीश महाकान्त ठाकुरले त्यसलाई हटाएर पुनः पुरानै मुकुट राखिने तयारी भइरहेको जानकारी दिए ।
आज बिहानै मन्दिरमा विधिपूर्वक नयाँ मुकुट राखिएको थियो । तर मुकुटमा कृष्णमुरारी प्याकुरेल, गोपीराज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुरेलको नाम उल्लेख थियो । दाताको रूपमा नाम उल्लेखित मुकुटको बारेमा सामाजिक सञ्जालमा विरोध भएपछि त्यसलाई हटाउने र पुरानै मुकुट राख्ने तयारी भइरहेको छ ।
‘आज बिहान नयाँ मुकुट राखिने काम भयो । म पनि त्यहाँ थिए तर त्यहाँ नाम उल्लेख छ भनी मलाई यादै भएन,’ पिठाधीश ठाकुरले भने, ‘मुकुट बनाएर दिने कुरा प्याकुरेल परिवारले मसँग कुरा गर्नुभएको थियो तर त्यसमा नाम पनि उल्लेख हुन्छ भनिएको थिएन । सामाजिक सञ्जालमा टीकाटिप्पणी हुन थालेपछि मात्र मैले पनि थाहा पाएको हुँ ।’
कृष्णमुरारी प्याकुरेलका पूर्वज ब्रजनाथ उपाध्यायले नै सुरुमा मुकुट दिएका थिए । मन्दिर निर्माणमा पनि उनीहरूको सहयोग छ। ‘आफ्ना हजुरबुवाले नै सुरुमा मुकुट दिएको कारण नयाँ मुकुट दिने अधिकार आफूहरूको रहेको भन्ने उहाँहरूको कुरा थियो । त्यही भएर हामीले नयाँ मुकुट बनाउन दिएका हौँ,’ तर त्यसमा नाम पनि उल्लेख हुन्छ भन्ने कुराको जानकारी आफूलाई नदिएको ठाकुरले बताए ।
माताको मुकुटमा यसरी नाम उल्लेख गर्नु राम्रो नभएको र आपत्तिजनक कार्य भएको बताउँदै उनले आफूले थाह पाउने बित्तिकै हटाउने प्रक्रिया सुरु गरिसकेको जिकिर गरे । अब भोलि बिहान चार बजे अर्को मुकुट लगाउने उनको भनाई छ ।