जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलको भोलि सोमवार जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट गरिन लागेको नागरिक अभिनन्दनको सम्पूर्ण तयारी पुरा भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि पहिलो पटक जनकपुरधाम भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति पौडेलको जनकपुरधाममा जानकी मन्दिरमा विशेष पुजा अर्चना, महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने तथा नागरिक अभिनन्दन समारोहमा सहभागी हुने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।



तय भएको कार्यक्रम अनुसार नेपाली सेनाको हवाईजहाजबाट राष्ट्रपति पौडेल काठमाण्डौंबाट ८ः४० बजे जनकपुर विमान स्थल आइपुग्ने छ। उनलाई जनकपुर विमान स्थलमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, संघीय सांसद, नगरप्रमुख तथा सुरक्षानिकायका प्रमुखहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति पौडेल विमान स्थलबाट सिधै जानकी मन्दिरको लागि प्रस्थान गर्ने र पूर्वी ढोकाबाट जानकी मन्दिर प्रवेश गर्नेछन् । त्यहाँ जानकी मन्दिरका मुल महन्थ रामतपेश्वर दास सहित प्रदेशका मन्त्री तथा सांसदहरुले स्वागत गर्नेछन्।
आधा घण्टा जानकी मन्दिरमा बिताउने राष्ट्रपति पौडेलले सो क्रममा जानकी माताको विशेष पुजा अर्चना, अखण्ड दीप प्रज्वल गर्नुको साथै सीता माताको माइती घर दर्शन, अखण्ड किर्तन दर्शन र महन्थको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले बताए ।
जानकी मन्दिरमा पूजा अर्चना पश्चात प्रदेश प्रमुख, सभामुख संग जलपान र नेपाल राष्ट्र बैंकको अतिथि निवासमा विश्राम तथा दिवा खानाको कार्यक्रम रहेको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतका संघीय आयोजना कार्यन्वयन इकाइ कार्यालय धनुषाका प्रमुख प्रदीप खनालका अनुसार राष्ट्रपति पौडेल को १ बजे महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुदघाटन गर्ने कार्यक्रम रहेको छ।
सहरी विकास मन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजना हुने सो कार्यक्रम पश्चात सोहि सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाको तर्फ राष्ट्रपति पौडेलको नागरीक अभिनन्दन समारोहको आयोजना गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा नागरिक अभिनन्दन पत्रका साथै राष्ट्रपतिलाई उपहार प्रदान गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले बताए।
राष्ट्रपति पौडेल सबै कार्यक्रम पश्चात सोमवार नै ३ बजे काठमाण्डौं फर्किने प्रजिअ पाण्डेले जानकार दिए।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै भोलि राष्ट्रपति पौडेल जनकपुरधाम आउन लागेका हुन् ।
२०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुने भएपछि जनकपुरधामवासी हर्षित भएका छन् ।
विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारको पालामा कांग्रेसका अगुवा नेता स्वर्गीय महेन्द्र नारायण निधिकी धर्मपत्नी प्रेमसागर देवीले उक्त सांस्कृतिक केन्द्रको शिलान्यास गर्नुभएको थियो । उक्त सांस्कृतिक केन्द्र चरणबद्ध योजनाअन्तर्गत रु १२ करोड २४ लाख ७९ हजारको लागतमा तयार भएको हो ।




