रौतहट – रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते भएका छन्। गोली लागेर गौर नगरपालिका–४ गढवा टोलका २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गएराति करिब ९ः१५ बजे यादवमाथि गोली प्रहार भएको हो।



गोली प्रहारबाट यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी जम्मा छवटा गोलीका छर्रा लागेको प्रहरीले जनाएको छ।
घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रहरीका अनुसार घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेका छन्।
यादवमाथि कसले र किन गोली प्रहार गरेको हो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।




