
जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलको सोमवार जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट गरिन लागेको नागरिक अभिनन्दनमा सहभागी हुन जनकपुरधाम आईपुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि पहिलो पटक जनकपुरधाम भ्रमणमा आएका हुन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाली सेनाको हवाईजहाजबाट राष्ट्रपति पौडेल काठमाण्डौंबाट ८ः४० बजे जनकपुर विमान स्थल आइपुगेका हुन्। उनलाई जनकपुर विमान स्थलमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, संघीय सांसद, नगरप्रमुख तथा सुरक्षानिकायका प्रमुखहरुले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेल विमान स्थलबाट सिधै जानकी मन्दिरको लागि प्रस्थान गरि पूर्वी ढोकाबाट जानकी मन्दिर प्रवेश गरेका थिए। उनलाई जानकी मन्दिरका मुल महन्थ रामतपेश्वर दास सहित प्रदेशका मन्त्री तथा सांसदहरुले स्वागत गरेका थिए ।

आधा घण्टा जानकी मन्दिरमा बिताउने राष्ट्रपति पौडेलले अहिले जानकी माताको विशेष पुजा अर्चना गर्दैछन् । मन्दिरमा उनले अखण्ड दीप प्रज्वल गर्नुको साथै सीता माताको माइती घर दर्शन, अखण्ड किर्तन दर्शन र महन्थको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले बताए।

राष्ट्रपति पौडेलको जनकपुरधाममा जानकी मन्दिरमा विशेष पुजा अर्चना, महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने तथा नागरिक अभिनन्दन समारोहमा सहभागी हुने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो। उहाँ यी सबै कार्यक्रम पश्चात आज नै ३ बजे पछि काठमाण्डौं फर्किने कार्यक्रम रहेको प्रजिअ पाण्डेले बताए।