महोत्तरी- बर्दिवास उद्योग वाणिज्य संघको दोस्रो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
मिन बहादुर हमालको अध्यक्षतामा २०५४ साल माघ ५ गते गठित उद्योग व्यापार संघ बर्दिबासको रुपमा यस क्षेत्रभित्रका साना देखी ठूला उद्योगी तथा व्यवसायीहरुको संरक्षण, सम्बर्द्धन तथा हकहितमा काम गर्दै २६ वर्षको इतिहास बोकेको छ । संघले २६ वर्षे इतिहासमा निकै लामो आरोह अवरोहको सामना गर्नु परेको थियो ।
स्थापनाको झन्डै १० वर्ष पछि अर्थात २०६२।६३ को राजनैतिक परिर्वतन पछि स्वर्गीय रामकृष्ण महतोकोे अध्यक्षतामा महोत्तरी उद्योग वाणिज्य संघ जलेश्वरको शाखाको रुपमा सेवा दिनको लागि पहल भएको थियो । २०६४ साल माघ १६ गतेको चुनावबाट सुरेश बहादुर राउतको अध्यक्षतामा समिति गठन हुंदा महोत्तरी उद्योग वाणिज्य संघ जलेश्वरबाट विधिवत निर्णय भई महोत्तरी उद्योग वाणिज्य संघ जलेश्वरको बजार शाखाको नामबाट सञ्चालनमा आएको थियो ।



त्यसैगरी २०७० साल फाल्गुन ३० गते को चुनावबाट हालको निर्वतमान अध्यक्ष प्रहलाद कुमार क्षेत्री चयन भएका थिए । २०७३ सालमा नगरपालिका गठन पश्चात बर्दिवास उद्योग बाणिज्य संघको नामबाट संघको नाम रहन गयो । क्षेत्रीकै अध्यक्षतामा २०७५ बैशाख ५ गते विधिवत रुपमा बर्दिवास उद्योग वाणिज्य संघको नामबाट दर्ता भई २०७५ चैत्र १५ मा नेपाल उद्योग वाणिज्य महासंघमा सदस्यता प्राप्त गरेको थियो ।
स्थापनाको २० वर्ष पछि अर्थात २०७४ सालमा संघले पहिलो साधारणसभा सम्पन्न गरेको थियो । विगत देखि वर्तमान सम्म आईपुग्दा संघले विभिन्न कालखण्डमा यस क्षेत्रको व्यवसायिक विकासको लागि महत्वपूर्ण योगदान दिदैं आएको छ ।
संघले बर्दिवास नगर भित्र रहेका सबै जातजाती , कला, धर्म–संस्कृति भेष–भूषा तथा स्थानीय उत्पादनको प्रवर्द्धन, विकास तथा बजारीकरण गर्न बर्दिबास महोत्सवको आयोजना गर्दै आएको छ । साथै सामुदायिक तथा संस्थागत विद्यालयका बाल प्रतिभाहरुको समेत कदर गरी त्यस क्षेत्रहरूको वृत्तचित्र बनाई त्यसको प्रचार प्रसार तथा प्रकाशन समेत गरेको छ ।
साधारणसभामा संघका अध्यक्ष विष्णु खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा नगरमा रहेका आम उद्योगी,व्यवसायीको जीउ धनको सुरक्षा गर्नु स्थानीय सरकारको दायित्व रहेको बताउदै , जनताले स्थानीय सरकारलाई तिरेको करको उद्योगी व्यसायीको संरक्षण सम्बर्द्धनको लागि आवश्यक निति ल्याउनु पर्नेमा जोड दिए ।
उनले नगरभित्र शान्ति सुव्यवस्था र निर्वाध रुपमा उद्योग तथा व्यापार व्यवसाय चलाउन सक्ने वातावरण नै नभएको जिकिर गरे । स्थानीय सरकार मौन बसिदिंदा नगरभित्र चोरी डकैती,संगठित अपराध , तथा विद्युत चुहावटबाट आगलागी जस्ता घटनाहरु दिनप्रतिदिन बढिरहेको छ । यसतर्फ नगरपालिकाले चासो देखाउनु पर्ने र त्यसका लागी मुख्य सडक , गल्ली र चोक चोकमा सि.सि. क्यामरा जडान गर्नु पर्ने आवश्यकता औल्याए । यसैगरी बर्दिवास नगरमा लिदै आएको फाहोर मैला करमा वृद्धि गरिएको कुरामा समेत संघको ध्यानाकर्षण भएको जनाए ।
शिक्षा,स्वास्थ्य,जग्गा वर्गीकरण, रेल्वेको मुआब्जा लगायत थुप्रै विषयमा संघले अत्यन्तै नजिकबाट नियाली रहेको छ । साथै त्यसको वास्तविकता बुझ्ने र गर्नु पर्ने कामको लागि स्थानीय सरकारलाई घच्घच्याउने काम गर्दै आएको छ । विगतको समय भन्दा वर्तमानको समयमा बर्दिबास सम्पूर्ण विषयको केन्द्र बन्दै गएको छ । बर्दिवास होटलको शहरबाट परिचित देखिन्छ, तर यहाँको पर्यटन क्षेत्रको ठोस आधार केही पनि छैन । यसका लागी यहाँको धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रर्वधन तथा विकास गरीे पर्यटकलाई आर्कषित गर्नु पर्ने खाँचो रहेको छ ।
व्यवसायीहरु यस संघमा आवद्ध भईसकेपछि उनीहरुलाई आपत विपत् परेको समयमा सकेको सहयोग गर्दै आइरहेको छ ।
संघले २०७२ सालको आम विनाशकारी भूकम्प होस् या २०७६/०७७ सालमा आएको विश्व माहामारी कोरोनाकाल या जुनसुकै समयमा पनि यस क्षेत्रका उद्योगी व्यवसायी तथा समाजमा रहेका अन्य व्यक्तिहरुको लागी परोपकारको काम गर्दै आएको छ ।
नेपालको कुल राजस्व करिव ८१ % दाखिला गर्ने देखि देशमा ८३ % रोजगार सिर्जना गर्ने व्यवसाय क्षेत्र आज धराशयी अवस्थामा पुग्दा व्यवसायीहरु आत्महत्या गर्न बाध्य छन् । बैंकको मौद्रिक नीतिका कारण धेरै व्यवसायहरु पलायन हुने स्थितिमा छन, त्यसकालागी सम्बन्धित सबै क्षेत्रले समयमै ध्यान दिन आवश्यक छ।




