जनकपुरधाम- विगत केहि दिन एता देशको विभिन्न क्षेत्रमा डाक्टर कुटेको विरोधमा जनकपुरधामका चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन् । मणिपाल पोखरा, गुल्मी, चितवनलगायत नेपालको विभिन्न ठाउँहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको निरन्तरको आक्रमणको घटनामा दोषीको कारबाहीको मांग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरुले शान्ति सुरक्षाको प्रत्याभुति गराउँ, चिकित्सक कुटन पाइदैन, स्वास्थ्य मन्त्री राजिनामा दे, गृहमन्त्री राजिनामा दे सहितका नारावाजी गरेका थिए । नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको नेतृत्वमा चिकित्क तथा स्वास्थ्यकर्मीले एकै पटक प्रदर्शन गर्दै कुटपिट सहितका घटनामा संलग्नहरुमाथि कडा कारबाहीको माग गरेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामबाट निस्केको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन: जनकपुरधामको प्रादेशिक अस्पताल पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै चिकित्सकसंघ जनकपुरका अध्यक्ष डा. रामजी यादवले पछिल्लो समय चिकित्सकहरुमाथि भएको आक्रमणले आफूहरु असुरक्षित महसुस गरिरहेको बताउँदै शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरे । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाहीको माग गर्दै त्यसो नभए कडा आन्दोलन गर्ने चेतनावी समेत दिए ।
प्रर्दशनमा प्रादेशिक अस्पतालका निर्देशक डा. राम नरेश पण्डित, प्रवक्ता डा. रामज्ञान यादव सहित चिकित्सक, नर्श, ल्याव टेकिनिसियन, स्वास्थ्यकर्मी सहितको उपस्थिती थियो ।





