
जनकपुरधाम- साक्षरता दर कम रहेको मधेशमा शिक्षाको अवस्था र अपेक्षा विषयमा आइतबार धनुषाको लालगढमा सरोकारबालाहरु संग अन्तरक्रिया गरिएको छ।
शिक्षा पत्रकार समूहले आयोजना गरेको सो अन्तरक्रियामा शिक्षाविज्ञ, स्थानीय सरकारका प्रमुख, प्रतिनिधी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, पत्रकार लगायतले आ–आफ्नो विचार राखेका छन् ।
मधेशमा शिक्षाको स्तर र साक्षरता दर बढाउन शिक्षक र स्थानीय सरकारले अहम भुमिका खेल्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । स्थानीय पाठ्यक्रमको लागु नगर्नु, विद्यालयमा भौतिक संरचनाको अभाव, स्थानीय सरकारको शिक्षामा कम लगानी, शिक्षक दक्षता, अभिभावकको चासोको कमी, विद्यालयमा राजनीति लगायत विविध कारणले मधेशको शिक्षाको अवस्था खस्कदैँ गएकोमा सरोकारबलाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् । विद्यालय सुधार शैक्षिक स्तर सुधारका लागि सबै सरोकारबला निकाय, तीनै तहको सरकार एकजुट भएर लाग्नुपर्ने आवश्यक रहेको सभागीहरुको सुझाव थियो ।
शैक्षिक स्तर सुधारका लागि विद्यालयका शिक्षक र पालिकाका जनप्रतिनिधी ईमान्दार भएर लाग्नु पर्ने बटेश्वर गाउँपालिका १ स्थित आधारभूत विद्यालय जनमुक्ति नगरका प्रधानाध्यापक रामवृक्ष महतोले बताउनुभयो । उहाँले सबै दोष शिक्षक माथि मात्रै थुपारेर नहुने भन्दै स्थानीय सरकारले पनि शिक्षामा बढी बजेट लगानी गर्नुपर्ने, शिक्षक विद्यार्थीको अनुपात मिलाउनुपर्ने, विद्यार्थी भर्ना र टिकाउ, प्रविधीमैत्री शिक्षण अभ्यास लगायतको कार्यमा बढी जोड दिनुपर्ने आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले पत्रकारहरुलाई शिक्षा र विद्यालयका राम्रो पक्ष नराम्रो पक्ष, सुधारका पक्षलाई केलाएर तीनै तहको सरकारलाई शिक्षाप्रति गम्भीर बनाउने खालको समाचार सम्प्रेसन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सर्लाहीका चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले विद्यालयमा वर्षौदेखि जड्किएर बसेको राजनीति, दलगत स्वार्थ, व्यवस्थापन समिति चयनमा राजनीतिक हस्तक्षेप बन्द गरेर शिक्षाका स्तर सुधारका लागि कार्य गर्नुपर्ने बताउनुभयो । आफु अध्यक्षमा निर्वाचित भएर आएदेखि विद्यालयमा शिक्षाको स्तर सुधारका लागि प्रयासमा रहेको जानकारी दिनुभयो ।
यता सोहि कार्यक्रम सहभागी महोत्तरीको गौशाला नगरपालिका प्रमुख डा. दिपेन्द्र महतोले आफु पालिकामा निर्वाचित भएर आएदेखि नै शिक्षालाई प्राथमिकता दिएर कार्य गर्दै आएको बताउनुभयो । उहाँले पालिकामा रहेको सामुदायिक विद्यालयका विद्यालयमा शिक्षा र शैक्षिक स्तर उकास्न बढीभन्दा बढी बजेट राखेको, विद्यालय र विद्यार्थी अनुपातमा शिक्षक मिलान गरेको, प्राविधिक शिक्षामा लगानी, अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था, भौतिक संरचनामा सुधार लगायतको कार्य प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी समेत दिनुभयो । उहाँले शिक्षामा कसैले पनि राजनीति गर्न नहुने र पत्रकारले सहि सूचना लिएर वास्तविक कुराको उजागर गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सो अन्तरक्रियामा शिक्षा विकास निर्देशनालय जनकपुरधामका वरिष्ठ शिक्षा अधिकृत किशोरी कापरले शिक्षा र शैक्षिक गतिविधी, प्रगति, विद्यालयको अवस्था, शिक्षक शिक्षिकाको अनुपात, विद्यार्थी भर्ना दर, कक्षा छाड्ने दर, शैक्षिक समस्या, चुनौती, अपेक्षा, सुधारका लागि भएका असल अभ्यास लगायतको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले मधेश प्रदेशका ८० वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु गरिएको जानकारी समेत दिनुभयो ।
शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लको अध्यक्षता तथा प्रदेशसभा सदस्य एवं महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा कुमारी यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य एवं प्रकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास (पहाडी), शिक्षाविद् डा. विद्यानाथ कोइराला, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, वरिष्ठ पत्रकार चन्द्र किशोर लगायत पालिका विद्यालयका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।