धनुषा। नेपाली काँग्रेसले फागुन ६ गतेबाट चुनावी सभा थाल्ने भएको छ । फागुन २१ को निर्वाचनलाई लक्षित गरेर जनकपुरमा सभा गर्न लागिएको हो ।
सभापति गगन थापा यसपटक सर्लाही-४ बाट चुनाव लड्दै हुनुहुन्छ । पहिलो ठूलो सभा मधेशमै गर्ने काँग्रेसको रणनीति बनाएको छ । सभालाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने काँग्रेसकाे मधेस सभापति कृष्णप्रसाद यादवले बताउनुभयाे।
यही फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना हुने मधेश सभाको विशेष तयारीका लागि नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको उहाँले बताउनुभयाे।
शनिबार पार्टीको प्रदेश कार्यालय थापा चौक, जनकपुरधाममा बसेको बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरूहतिया गाछीमा मधेश सभा आयोजना गर्ने निर्णय गरिएकाे छ।
बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी पार्टीको धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ।
त्यसैगरी, मधेश सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट १ लाख बढि सहभागीहरू बोलाउने निर्णय गरिएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिनुभयाे।




