
जनकपुरधाम- पवित्र मानिएको जितिया पर्व जनकपुरधाम सहित सम्पूणर् मिथिलाञ्चलमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।
व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । आजको दिनलाई ‘नहा, खाय’ अर्थात् नुहाएर खानु भनिन्छ ।
शुक्रवार बिहान ४ बजेदेखि पानी समेत नखाई उपवास बस्ने वर्तालु महिलाले शनिवार बिहान १० बजे व्रत सम्पन्न गर्ने पुरोहित लालबाबु झाले बताए ।
व्रतालुले आज जनकपुरधामको पवित्र जलासय गङ्गासागर, अरगजसर, धनुष सागर, गोरधोइ पोखरीलगायत पोखरी र नदीमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरियो । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन रहेको छ ।
व्रत बस्नु अघिल्लो दिन आज व्रतालुले विभिन्न जलासयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आआफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।
व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा (कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठगन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ ।
प्रायःजसो महिलाले ओठगनमा च्युरा, दही खाने गरेको पाइन्छ । त्यसपछि विकट उपवासका क्रम सुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष विकट रहेको पण्डित इन्द्रकान्त झा शास्त्री बताउँछन् ।
सन्तानको दीर्घ जीवन, पुत्रप्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । पण्डित इन्द्रकान्त झाले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बताउँछन् । पितृपक्षमा मनाइने पर्वमा महिलाले आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउँछन् ।
मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने पनि व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको पौराणिक कथन छ ।
जितिया पर्वबारे मधेसमा एउटा भनाइ छ ः
जितिया पावनि बड भारी
धियापूताके ठोकि सुतौलनि
अपने खयलनि भरि थारी
अर्थात् जितिया पर्व निकै कठिन छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोक-ठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविकता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्य मात्र हो ।
यस पर्वको आफ्नै विशिष्ट विधिविधान रहेको छ । पर्वको एक दिनपूर्व अर्थात् आश्विन कृष्ण सप्तमीका दिन सधवा स्त्रीगण माछा एवम् कोदोको रोटी खाने गर्छन् भने विधवाद्वारा भात, चिउरा, कोदोको रोटी खाने परम्परा रहेको छ। शाकाहारी हुनेले स्नान गरेर गम्हरी (कोसा भित्रै फल्ने धान)को खीर वा भात पनि खाने चलन छ । अष्टमी तिथिको बिहान ३-४ बजेतिर नै प्रत्येक महिलाले आचमन शुद्धि गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राख्छन् । त्यसपछि दिन-रात उपवासमा बस्नुपर्ने भएकाले छाकभरि भोजन गर्छन् । महिलाले व्रत-उपवास गर्नुभन्दा पहिला नै खाने गरेकाले नै होला, यस व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास छ ।
बच्चा ब्युँझेपछि तिनका आमाले तिनको मुख, हात धुन लगाई रातिमा तिनका लागि घिरौँलाका पातमा राखेका नैवेद्य स्वरुपको चिउरा, दही खान दिन्छन् र आफू दिनरात उपवासमा बसेर जिमुतवाहन तथा चिल र स्यालको कथा सुन्छन् । जुन दिन नुहाएर खाइन्छ त्यसको भोर (विहानी पख)मा घरको भित्तामा अडेस लिएर मन्त्र पढिन्छ जसलाई ओङगठन भनिन्छ । ओङगठनको मन्त्र यसप्रकार रहेको छ ः
धियाके जनम जनि दिय हे विधाता
देवनि सहोदर जेठ भाय
घैलाके ओङगठन गेरुलि
बहिनियाँके ओङगठन भाय ॥
भोलिपल्ट बिहानै सकालै उठेर व्रतीले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिसकेपछि घर आउँछन् र आ-आफना सन्तानका कपालमा कचौरामा रहेको सो पुजनको तेल लगाइदिने चलन रहेको छ । यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती आफू पनि पारायण गरेर पर्वको समापन गर्छन् ।
यसरी गरीन्छ जिमुतवाहनको पूजा
कृष्णअष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको संकल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।
मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताका बारेमा एउटी व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ-आफ्ना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हागामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।
को हुन् जिमुतवाहन ?
भविष्य पुराणमा वणर्न गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको असीमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।
चिल र स्यालको पूजा
हिन्दुधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ ।
सोअनुरूप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसो लगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ ।
यस्तो छ जितिया पर्व कथा
कनकावती नगरको मध्यभाग स्थित नर्मदा नदीको डिलमा पाकरीको रूखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रूखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए ।

व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे।
सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के । उनीहरू फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो ।
दुवैको जन्म भास्कर नामक ब्राह्मणको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पुरावतीका रूपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो तर मृत्यु भयो ।
वर्षांपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आफ्नी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्यु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाहँदैनन् ।
थारू जनजातिका महिलाबीच लोकप्रिय पर्व जितिया
थारू जनजातिका महिलाबीच पनि यो पर्व अति लोकप्रिय रहेको छ । थारू समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् । यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेँलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ । भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ । पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ ।
दसैँ आगमनको संकेत
जितिया पर्वलाई दसैँ आगमनको संकेतका रूपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ । यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पुजन गरिन्छ । छोरा र छोरीमा भेद्भाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ । ऐतिहासिक यस भूभागमा बसोबास गर्ने मुस्लिमबाहेकका महिलाको पर्वका रूपमा पनि यसले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ ।
मिथिला क्षेत्रमा एउटा भनाइ प्रसिद्ध छ ः
जितिया, दशैँ, दशमी, दशमी बीसे
सुकराति, सुकराति छवे छठि ॥
अर्थात जितियाको दश दिन पछि दसैं, दसैंको बीस पछि दिपावली र दिपावलीको ६ दिन पछि छठ पर्व हुने गर्दछ ।
यस भनाइले पनि जितिया सकिएको लगभग विजयादशमीको रौनकतालाई प्रस्ट गर्दछ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रूपमा बुझ्नु जरुरी छ ।